८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


म्याग्दीको बराहा ताल संकटमा, संरक्षणको खाँचो


13
Shares

म्याग्दी । धौलागिरि र निलगिरि हिमालको प्रतिबिम्व देखिने म्याग्दीको बराहा ताल मानवीय अतिक्रमण र सडक निर्माणका कारण जोखिममा परेको छ ।

म्याग्दीको मालिका गाउँपालिका– १ मा पर्नेे यो ताल प्राकृतिक सुन्दरताले भरिपूर्ण हुनुका साथै जैविक विविधता र सिमसारले समेत महत्वपूर्ण रहेको छ । यस तालका बारेमा प्रशस्तै मिथक र किंवदन्ती रहेका छन् ।

समुद्री सतहदेखि दुई हजार तीन सय मिटरको उचाइमा अवस्थित बराह तालको सिमसार क्षेत्र पनि अतिक्रमणको चपेटामा परेको छ । तालदेखि करिव ७० मिटरको दुरीमा पूर्वतर्फ बस्ती विस्तार हुँदा तालको मौलिक स्वरुप नासिँदै गएको छ । तालको सिरानमा रहेको जंगल हुँदै मोटरबाटो खनेपछि माथिबाट बगेर आउने गेगर र माटोले ताल पुरिनुका साथै यहाँको सिमसार क्षेत्र नासिँदै गएको हो ।

पहिला हिउँदमा सुक्ने यो ताल २०४२ सालमा बराहा देवताको मन्दिर स्थापना गरी साँडको बलिसहित पूजा गरेपछि कहिल्यै पनि नसुक्ने भएको र तालको सतह पनि बढ्दै गएको स्थानीय बलबहादुर विकले बताउनुभयो । प्राकृतिकरुपमा बनेको यो तालको भू–बनोट देख्नेहरुलाई आश्चर्यचकित बनाइदिने खालको छ । पहाडको टुप्पोमा रहेको यस तालमा बिहानी पख धवलागिरि र निलगिरि हिमालको छायाँ ऐना हेरेजस्तै स्पष्टै देख्न सकिन्छ ।

“आँखै अगाडी हिमाल । तालमा तिनै हिमालको छायाँ लोभलाग्दो दृश्य हेर्न पाइन्छ यहाँ । बराह तालको जैविक विविधता र सिमसार संरक्षणका लागि स्थानीय तहको ध्यान जान आवश्यक छ ” तालको अवलोकनका लागि पहिलो पटक निस्कोट पुग्नुभएका पर्वत कुश्माका बलराम श्रेष्ठले बताउनुभयो ।

रोमाञ्चक भू–बनोट, हरियाली र विविधताले युक्त सुन्दर गाउँ, मनमोहक प्रकृति र यही प्रकृतिको सेरोफेरोमा रहेको चित्ताकर्षक बराह तालमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको भीड लाग्ने गरेको स्थानीय दलबहादुर विश्वकर्माले बताउनुभयो ।

झण्डै दुई रोपनी क्षेत्रफलमा फैलिएको यो तालबाट मौसम खुलेको समयमा आँखै अगाडि सेताम्मे हिमाल लहरै देखिन्छन् । ताल एक सय १३ मिटर लम्बाई, ६५ मिटर चौडाइमा फैलिएको छ । वर्र्षाको समयमा करिव २० मिटर गहिराइ हुने यो ताल हिउँदको समयमा भने पानीको सतह घट्दा ८देखि १० मिटर गहिराइमा रहने स्थानीय वताउँछन् ।

बराह ताल क्षेत्रबाट संसारको सातौँ तथा नेपालको दोस्रो अग्लो चुचुरो धौलागिरि हिमालको साथै गुर्जा, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे, माना पाथीलगायतका आधा दर्जनभन्दा बढी हिमाल र मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ ।