५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


प्रचार सामाग्रीले भरीभराउ विजुलीको पोल


377
Shares

काठमाडौं । विज्ञापन खुला बजार अर्थतन्त्रको अभिन्न अंग हो । तर, विज्ञापन गर्ने नाममा शहरी क्षेत्रको स्वरुप नै विगार्ने गरी प्रचार सामाग्री प्रदर्शन गर्ने क्रम भने तीब्र भएको छ ।

काठमाडौंका गल्ली गल्ली मात्र नभइ मुल सडकका भित्ता र सडक छेउका विजुलीका पोलमा गरिने यस्ता विज्ञापनहरुले आँखा मात्रै विझाउँदैन शहरको स्वरुपलाई समेत कुरुप बनाईरहेका छन् । सर्वसाधारणको ध्यान तान्नका लागि टाँसिएका यी पम्पलेट हुन वा निजी घर, पसल, वा भित्ताहरु यस्ता प्रचार सामग्रीले भरिएको देख्न पाइन्छ । धुलो, धुँवा, विजुलीका पोलमा गुजुल्टिएका तार र सडकका खाल्डाखुल्डीले कुरुप बनाईरहेको शहरमा यस्ता प्रचार सामाग्रीले सडक छेउका भित्ता र पोल समेत हेरिसाध्य छैन ।

काठमाडौं महानगरपालिकाले होर्डिङ बोर्ड तथा प्रचारप्रसार सामाग्री नियमन गर्ने नीति २०७० जारी नगरेको पनि होइन । तर, त्यसको कार्यान्वयन हुन नसक्दा शहर कुरुप बन्दै गएको छ । विजुलीका पोल र बाकसहरुमा व्यवसायिक विज्ञापनका पर्चा पम्प्लेट टास्ने जथाभाबी लेख्ने काम गैरकानूनी भएको र यस्तो कार्यले महानगरको सौन्दर्यता नष्ट हुने काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर बताउनुहुन्छ ।

यस्तो, गैर कानूनी काम रोक्न काठमाडौं महानगरपालिकाले आफ्नो श्रोत साधन परिचालन गरिसकेको र पुनः त्यस्तो कार्य गरेको फेला परेमा १० हजारदेखि १ लाख रुपैयाँ सम्म जरिवाना गर्ने प्रवक्ता मानन्धरले बताउनुभयो ।

महानगरपालिकाले मापदण्ड विपरित एवम् निशेधित स्थानमा राखिएका बोर्ड तथा प्रचारप्रसार सामाग्री हटाउने कार्य बेला बेलामा नगरेको पनि होइन तर त्यसलाई निरन्तरा दिन नसक्दा यस्तो अवस्था आएको हो । वडा कार्यालयहरु र टोलमा रहेका जनप्रतिनिधिहरुको पनि छरपस्ट र मनपरी रुपमा गरिने विज्ञापनप्रति ध्यान गएको पाइँदैन । डिजिटल युगमा भित्ता र विजुलीका पोलमा विज्ञापन गर्दै हिंड्नु आफैमा नसुहाउने विषय पनि हो ।