२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


म्याग्दीको निस्कोट गाउँ युवाविहीन बन्दै


0
Shares

म्याग्दी । रोजगारी र उच्च शिक्षा हासिल गर्न विदेशिने युवाहरुको संख्या दिनदिनै बढ्दै गइरहेको छ । हरेक दिन युवाहरुले देश छोड्ने क्रम बढ्दै जाँदा म्याग्दीको मालिका गाउँपालिका वडा नं १ निस्कोट गाउँ रित्तिन थालेको छ । यहाँका युवाहरु विदेशिएपछि गाउँ युवा विहीन बनेको छ ।

निस्कोट गाउँका एक सय ७३ युवाहरु अमेरिका र अन्य युवाहरु युरोप तथा खाडी मुलुकमा गएपछि गाउँ युवाविहीन बनेको हो । अमेरिका पुग्नका लागि यहाँका युवाहरुले अवैधानिक बाटो रोज्ने गरेका छन् । म्याग्दी निस्कोटकी ८५ वर्षिया मंगली विक (सुनार) कान्छा छोरा तुलप्रसाद सुनार गाउँबाट हिँडेको १७ महिनापछि अमेरिका पुगेको बताउँछिन् ।

तुलप्रसाद अमेरिकामा पुगेर सेटल भएपछि यहाँका अरु एक सय ७२ जना युवाहरु ऋणधन गरेर जति दुःख भए पनि जंगल र खोलानालाको बाटो छिचोल्दै, एजेण्टले मागे जति रकम बुझाउँदै अमेरिका पुगिसकेका छन् । अर्को छोरा गोविन सुनार पनि ६५ लाख रुपैयाँ एजेण्टलाई बुझाएर चार महिना हिँडेर अमेरिका पुगेको मंगलीले बताइन् ।

उहाँको मात्रै होइन, यहाँका प्रायः सबै घरबाट एक जनादेखि तीनजनासम्म अमेरिका पुगेका छन् । अन्य मुलुकमा गएकाहरु पनि धमाधम गाउँ फर्किएर अमेरिका जाने तयारीमा जुटेको स्थानीय पूर्णबहादुर विक बताउनु हुन्छ ।

२०७० सालयता यहाँका सयौं युवाहरु ५५ लाखदेखि ७७ लाख रुपैयाँ खर्च गरेर गैरकानुनी बाटो हुँदै महिनौं लगाएर अमेरिका पुगिसकेका छन् । चार सय २२ घरधुरी र १९ सय ९४ जनसंख्या रहेको यस गाउँका युवाहरु गैरकानुनी बाटो हुँदै अमेरिका छिरिसकेका छन् भने गाउँमा रहेका युवाहरु पनि जाने तरखरमा छन् ।