
काठमाडौं । काठमाडौंमा गत शनिबारदेखि पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय वाटरकलर फेष्टिवल सुरु भएको छ । कुल ३९ देशका ३४३ कलाकृति प्रदर्शनीमा राखिएको उक्त कला महोत्सवमा सहभागी हुनका लागि स्वदेशी तथा विदेशी ३२ जना कलाकार काठमाडौं आएका छन् ।
गएको शनिबारदेखि राजधानीमा सुरु भएको कला महोत्सवमा अहिले कलाकार र कलापारखीको घुइँचो लागेको छ । नेपाली कलाकारसँगै महोत्सवमा विश्वका विभिन्न मुलुकका कलाकारहरु सहभागी छन् । महोत्सवमा भाग लिनकै लागि बेलायत, म्यानमार, थाइल्याण्ड, बङ्गलादेश, भारत, अष्ट्रियालगायत ३० देशका ३२ जना नेपाल आएका छन् । यस कार्यक्रमले नेपालको मौलिक पहिचान विश्वसामु पुर्याउन सहयोग पुग्ने समाजका अध्यक्ष एवं महोत्सव संयोजक एनवी गुरुङ बताउनुहुन्छ ।
महोत्सवमा सहभागी गराइने तीन सय ४३ कला सिर्जनामध्ये नेपालका ११५ जना कलाकारका चित्र कला प्रदर्शनीमा रहने छन् । प्रदर्शनीमा दैनिक ४ सय देखि ५ सय अवलोकनकर्ताहरु आउने गरेको र ६ वटा चित्रकला बिक्रीसमेत भैसकेकाले समाजका अध्यक्ष गुरुङ बताउनुहुन्छ ।
नेपाल कला परिषद् बबरमहलमा अन्तर्राष्ट्रिय जलरङ समाज नेपालले आयोजना गरेको कला महोत्सव मंसिर २० गतेसम्म चल्ने छ । झण्डै रु १३ देखि १४ लाख खर्च हुने अनुमान गरिएको जलरङ महोत्सवअन्तर्गत काठमाडौं, ललितपुर र भक्तपुरका सम्पदा क्षेत्रमा गएर ७२ जना चित्रकारहरु चित्र उतार्ने काम गरिरहेका छन् भने कलाकारलाई नगरकोट लगेर सूर्योदय र सूर्यास्तको दृष्यावलोकन गराई कला सृजना गराइने आयोजकले जनाएको छ ।

विदेशी कलाकारको समेत सहभागिता रहेकोले एकआपसमा अनुभव र सिकाइ आदानप्रदान हुने छ भने धेरै कलाकारले काठमाडौंको सम्पदा क्षेत्रका चित्र जलरङका माध्यमबाट सिर्जना गर्ने भएकाले नेपालको पर्यटन प्रवर्द्धनमा पनि ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
चित्रकला माध्यमबाट बिदेशमा नेपालको कला सस्कृतीको प्रचार गर्ने सकिने भएकोले सम्बन्धित निकायले यस क्षेत्रलाई प्रोत्साहन र प्रवर्द्धन गर्न जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्