
काठमाडौं । आज मंसिर १९ गते । नेपाली सांगीतिक क्षेत्रमा सर्वाधिक रुचाइएका जादुमयी गायक नारायण गोपालको स्मृति दिवस । नेपाली सांगीतिक क्षेत्रमा सुगमधारमा वर्चश्व कायम गरेका स्वर सम्राट नारायण गोपाल भौतिकरुपमा विदा भएको ३३ वर्ष भएपनि उनका कालजयी गीत अझै पनि उसैगरी गुञ्जिरहेका छन् ।
२०१६ सालदेखि गुन्जिरहेको यो गीत २०८० सालसम्म आइपुग्दा पनि उस्तै कर्णप्रिय छ, जतिबेला नारायणगोपालले गाउँदा ताका थियो । अनि उतिकै माधुर्य छरिरहेको छ नेपाली सांगीतिक क्षेत्रमा । कारण हो मनै छुने शब्द र संगीतबाट सुनिएका गीत ।
सृजनशीलता र गुणस्तरलाई माया गर्ने स्वाभिमानी गायक नारायण गोपालको गीतको शब्द छनोट, संगीतको गहनता र श्रोताको हृदय छाम्न सक्ने अदभुत क्षमताका कारण उनका गीत जीवन्त छन् । मेसिनले जस्तो गाउनु हुँदैन भन्ने नारायण गोपाल सांगीतिक सागरमा डुबे र मोती ल्याउन सफल भएरै छाडे । जसका कारण कालान्तरमा स्वर सम्राटको उपमा पाउन पनि सफल भए ।
वि.स. १९९६ साल असोज १८ गते काठमाडौंको किलागलमा जन्मिएका उनले बाबु आशागोपाल गुरुवाचार्यको सांगीतिक दिक्षालाई २०१६ सालमा आएर औपचारिकता दिए ।
२० वर्षको उमेरमा संगीत बिधामा आफनो गलाको कला देखाउँदै आएका नारायण गोपालको सांगीतिक यात्रामा विभिन्न आरोह अवरोह नआएको पनि होइन । तर, तिनलाई चिर्ने एउटै माध्यम बन्यो उनको गला ।
२०३६ सालमा सांस्कृतिक संस्थानको महाप्रबन्धक, ललितकला क्याम्पसको संगीत विशेषज्ञ, सञ्चार मन्त्रालयको सञ्चार सल्लाहाकार जस्ता प्रशासकिय पद सम्हाले पनि उनको कालजयी गीतको सम्मानले संगीतको सुगन्ध फैलाउने काममा कुनै कसर बाँकी राखेनन् ।
पे्रमला गुरुवाचार्यसँग विवाह बन्धनमा बाँधिएका यो दम्पत्तीको कुनै सन्तान नभएपछी नारायण गोपालले लक्ष्मीप्रसाद देवकोटाको शब्दमा ईश्वरलाई प्रश्न गरिरहे गीतमार्फत ।
नेपाली सांगीतिक क्षेत्रमा कहिले तिर्न नसक्ने गुण लगाएका उनको २०४७ साल मंसिर १९ गते निधन भयो । उनको निधनपछि नारायण गोपाल स्मृति कोष स्थापना भयो । जुन कोषले बेलाबेलामा नारायण गोपाललाई सम्झने प्रयास गरेको छ । स्वर सम्राटको संगीतको कदर गर्ने उनका लाखौं श्रोता भने उनको गीतमा हिजो जस्तै आज पनि हराइरहेको छ ।
मृत्युको कुनै उमेर हुँदैन । त्यसैले त नारायण गोपाल ५१ वर्षको उमेरमा अनन्त यात्रामा समाहित हनुपुगे । यद्दपी उनका कालजयी गीत श्रोताको ढुकढुकीमा पुग्ने यात्रा अझै पनि जारी छ । जुन यात्राको सम्बन्धले नारायण गोपाल कहिले पुरानो भएनन् र हुने पनि छैनन् ।
प्रतिक्रिया दिनुहोस्