
काठमाडौं । पूर्विय दर्शन र परम्परामा ध्यान र योगको महत्वपूर्ण स्थान रहेको छ । मानवीय चरित्र निमार्ण र स्वास्थ्य लाभका लागि अहिले यो विश्वस्तरमा नै व्यापकरुपमा फैलिरहेको छ । पछिल्लो समय ध्यान र योगको महत्व आयुर्वेदमा मात्र सीमित नरही आधुनिक चिकित्सापद्धतिले पनि मान्यता दिन थालेको छ । विपश्यना ध्यान र अष्टांग योगको सन्तुलनबाट मानवजीवनलाई सार्थक बनाउन एक नर्वेजियन महिलाले पनि आफनो जीवन समर्पित गरिरहेकी छिन् ।
ध्यान र योग हाम्रो पूर्विय दर्शन र परम्पराको अभिन्न अंग हो । चरित्रवान र असल मानव सभ्यता निमार्ण र सुस्वास्थ्यका लागि ध्यान र योग मानव जीवनका लागि महत्वपूर्ण रहेको छ । यसको महत्व र उपादेयतालाई बुझेर नै होला आज पश्चिमा मुलुकहरुमा समेत यसले व्यापकता पाउन थालेको छ । विपश्यना ध्यान र अष्टांग योगको सन्तुलनलाई सँगसँगै लगेर पूर्वीय र पश्चिमा मुलुकलाई जोड्ने कार्यमा एक नर्वेजियन महिला यतिखेर समर्पित भएर लागि पर्नुभएको छ ।
योग शिक्षिका एलेन जोहानसनले करिब ३० वर्षदेखि अष्टांग योग गर्दे आउनुभएको छ । प्राचिन योग मानवको शारिरिक र मानसिक स्वास्थ्यका लागि महत्वपूर्ण भएको उहाँको अनुभव छ । सुरुमा अमेरिकामा नै अष्टांग योग प्रशिक्षित एलेन भारत गएर अष्टांग योगमा थप उच्च अभ्यास गर्नुभयो । उहाँले काठमाडौं विश्व विद्यालयबाट बौद्ध अध्ययनमा पनि उच्च शिक्षा हासिल गर्नुभयो । अहिले बौद्ध ध्यान र योग सँगसँगै अभ्यास गरिरहनुभएको छ ।
उहाँ भन्नुहुन्छ,- ‘बौद्ध धर्म धेरै व्यवहारिक रहेकाले बौद्ध ध्यान र योगलाई एक बनाएर मानवकल्याण र आध्यात्मिक विकासको लागि लागि परेको हुँ ।’ उहाँले नेपाल, नर्वे लगायतका विभिन्न मुलुकमा ध्यान तथा योगको सेन्टर, टे«क र रिट्रिट पनि सञ्चालन गर्दे आउनुभएको छ ।
करिब ८ वर्ष नेपाल वसाईका क्रममा विभिन्न धर्मको गहिरो अध्ययन गरेर जीवन र जगतको बारे बुझ्ने मौका पाएको उहाँको भनाई छ । हाम्रो सनातन धर्मभन्दा फरक मान्यता बोकेका पश्चिमा मुलुकका नागरिकले समेत अँगालेका हाम्रो अमूल्य दर्शन आत्मसात गर्न कतै हामी आफैं चुकेका त छैनौ ?
प्रतिक्रिया दिनुहोस्