
काठमाडौं । पराराष्ट्र मन्त्रालयमा कामु सचिवका रुपमा कार्यरत सहसचिव सेवा लम्साललाई सरकारले सचिवमा बढुवा गरेसँगै नेपालको निजामती सेवाको विशिष्ट श्रेणीमा एकसाथ ९ जना महिला पुगेका छन् । नेपालको निजामती इतिहासमा यो नयाँ रेकर्ड हो ।
मन्त्रिपरिषद्बाट पराराष्ट्र सचिवमा सेवा लम्सालको बढुवा गरिएसँगै पराराष्ट्र मन्त्रालयमा महिला सचिवको नयाँ रेकर्ड बनेको छ । यसअघि २४ जना सचिव बनिसकेको सो मन्त्रालयमा लम्साल २५ औं सचिव बन्नु भएको छ भने पहिलो महिला सचिव ।
२०५५ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गर्नुभएका लम्साल पाकिस्तान, इरान र टर्की लगायत ६ वटा देशको राजदुत हुनुका साथै मन्त्रालयको प्रवक्ता पनि रहिसक्नुभएको छ । लम्सालको यो बढुवासँगै नेपालको इतिहासमा निजामती सेवामा विभिन्न सेवामा गरी एकसाथ ९ जना महिलाहरु विशिष्ट श्रेणी अर्थात सचिवको रुपमा कार्यरत रहने छन् ।
नेपालको निजामती सेवाको इतिहासमा पहिलो महिला सचिव बन्नु भएको थियो चन्द्रकला किरण । किरणलगायत यसअघि ११ जना महिलाले अलग अलग कालखण्डमा सचिवको कमाण्ड सम्हालेर सेवा निबृत्त भैसक्नुभएको छ । यद्यपि एकसाथ यति धेरै संख्यामा रहेको भने यो पहिलो अवसर हो ।
अहिले सचिवमा बहाल रहनुभएका महिलाहरुमा देव कुमारी गुरागार्ई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुनुहुन्छ भने लक्ष्मीकुमारी बस्नेत गण्डकी प्रदेश सरकारका प्रमुख सचिवमा । यस्तै, राधिका अर्याल लुम्बिनी प्रदेशको प्रमुख सचिवको रुपमा कार्यरत हुनुहुन्छ ।
यसैगरी प्रमिलादेबी बज्राचार्य अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा विज्ञान तथा प्रविधी सचिवको रुपमा कार्यरत हुनुहुन्छ भने सरिता दवाडी इन्जिनियर सेवातर्फ शिक्षा मन्त्रालयको सचिव हुनुहुन्छ । यसैगरी अन्य महिला सचिवहरुमा लीलामणी गड्तौला प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र निर्मला पौडेल सर्वोच्च अदालतको रजिष्टार र बिन्दु बिष्ट उपमहालेखापरिक्षकको रुपमा कार्यरत हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्