५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


हस्तकला व्यापार मेलामा धातुदेखि छालाजन्य सामाग्री


520
Shares

मेलामा धातुकला, सुनचाँदी, सुती एवम् ढाकाका सामान, पस्मिना, छालाजन्य सामाग्रीका स्टल रहेका छन् । यस्तै, प्राकृतिक रेसा र बाँसका सामाग्री पनि राखिएको छ ।

काठमाडौं । नेपाल हस्तकला महासंघको आयोजनामा ‘हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । मेलामा नेपाली हस्तकलाका सामाग्रीहरु बिक्री तथा प्रदर्शनीका लागि राखिएका छन् ।

दरबारमार्गको अन्नपूर्ण होटल परिसरमा २०औं हस्तकला व्यापार मेला सुरु भएको हो । नेपाल हस्तकला ममहासंघले व्यापार मेलासँगै हस्तकला प्रतियोगिता समेत आयोजना गरेको हो । हस्तकलाका सामाग्रीहरुको स्वदेश तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले महासंघले हरेक वर्ष मेला गर्दै आएको छ । नेपाल हस्तकला महासंघका उपाध्यक्ष प्रदिप शाक्यले यस्ता मेलाले हस्तकलाका उत्पादनको प्रवद्र्धन गर्न मद्धत पुग्ने बताउनुभयो ।

हस्तकला उत्पादन गर्नेहरुको प्रोत्साहनका लागि पनि यस्तो मेला आयोजना हुनु जरुरी भएको भन्दै उहाँले हस्तकलाका सामाग्री निर्यातका लागि सरकारले पहल तथा सहयोग गर्नु पर्नेमा पनि उहाँले जोड दिनुभयो ।

यस क्षेत्रमा करिब ११ लाख व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न रहेको दाबी महासंघको छ । मेलामा धातुकला, सुनचाँदी, सुती एवम् ढाकाका सामान, पस्मिना, छालाजन्य सामाग्रीका स्टल रहेका छन् । यस्तै, प्राकृतिक रेसा र बाँसका सामाग्री पनि राखिएको छ ।

महासंघका अनुसार वार्षिक करिब १२ अर्ब रुपैयाँ बराबरका नेपाली हस्तकलाका सामाग्री विश्वका ६० भन्दा बढी देशमा निकासी हुने गरेको छ । स्वदेशी बजारमा पनि रुचाइने यी वस्तुको कुल बजार २४ अर्ब रुपैयाँ हाराहारीमा रहेको छ ।