
काठमाडौं । २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण दरबारमध्ये बालमन्दिर रहेको सीता भवन पनि एक हो । यद्यपी भुकम्प गएको ८ वर्ष बितिसक्दा पनि ४ सय वर्षअघिको ईतिहास झल्काउने यस्तो ऐतिहासिक दरबारको पुननिर्माण कार्यले पूर्णता पाउन सकेको छैन ।
काठमाडौंको मुटुमा १ सय २ रोपनी जग्गामा रहेको सीता भवन पछिल्लो समय बाल मन्दिरको नामले परिचित छ । यो भवन लामो समयसम्म देशभरका असाहाय र अनाथ बालबालिकाको आश्रयस्थल रह्यो ।
२०७२ सालको भुकम्पले क्षतिग्रस्त बनाएपछि यहाँ रहेका बालबालिकालाई अन्य बालगृहहरुमा सारियो । यही भवनमा रहेको ललितकला प्रतिष्ठान पनि बालमन्दिरकै परिसर नजिक सर्यो । भूकम्पले जीर्ण बनेको यो भवन पुननिर्माणका जिम्मा पायो रबिना कन्स्ट्रक्सनले । ३ वर्ष भित्रमा पुननिर्माणको काम सम्पन्न गर्ने बाचासहित २०७६ सालमा निर्माण ठेक्का लिएको यो कम्पनीले समयसीमा भित्र निर्माण कार्य पूरा गरेन । तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि पटक पटक म्याद थप गरी यही पुस मसान्तको अन्तिम समयसीमा तोकियो । तर, निर्माण कार्यको प्रगति हेर्दा सो अवधिमा पनि निर्माण पूरा हुने स्थिति छैन ।
यो भवनमा प्रयोग गरिेने अधिकांश निर्माण सामाग्री विदेशबाट ल्याउनु पर्ने बाध्यता जनाउँदै निर्माण कम्पनीले पुन ४ महिनाका लागी म्याद थप गर्न माग गरेको छ । यद्यपि निर्माण कार्यको अवलोकन गर्दा थप चार महिनामा पनि निर्माण सम्पन्न हुने संभावना देखिन्न ।
कुनै समय ललितकलाको नाफा हल रहेको यो कक्षमा रहेका बहुमुल्य सामनहरुलाई केही हदसम्म जतन गरेको देखिएतापनि जताततै जीर्ण अवस्थामा रहेका कारण तिनको संरक्षण समेत चुनौतीपूर्ण बनेको छ ।
भवन सबलीकरण गरेर पुरानै ढाँचामा ल्याउने प्रयास गरिए पनि कामले चुस्तता पाउन सकेको छैन । फलतः वर्षौंदेखि ललितकला प्रज्ञा प्रतिष्ठानले संरक्षण गरेका चित्रकला, मूर्तिकला र काष्ठ कलाका अमूल्य सम्पदा नष्ट हुने अवस्थामा पुग्नुका साथै त्यहाँ आश्रय लिएका बालबालिकालाई पुनस्थापना गर्न पनि ढिलाइ भएकोले सम्वद्ध निकायले गम्भीरता देखाउन जरुरी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्