
काठमाडौं । रुस र युक्रेनबीच जारी युद्धले विश्वलाई नै प्रत्यक्ष वा परोक्ष पीडा दिएको छ । नेपाल भने सो युद्धबाट प्रत्यक्ष पीडित हुने मुलुकमा परेको छ । रुसी सेनामा भर्ति भएर मारिने, वेपत्ता हुने र घाइते हुने नेपालीहरुको संख्या दिन प्रतिदिन बढ्दै जाँदा हजारौं किलोमिटर परको युद्धले नेपाललाई प्रत्यक्ष पीडा दिएको हो ।
रुस र युक्रेन नेपालबाट हजारौं किलोमिटर टाढा छन् । ती देशहरुसँग न त हाम्रो कुनै सैन्य वा युद्ध सम्बन्धि सम्झौता नै छ । तर परस्पर युद्धरत् ती दुवै देशका सेनामा भर्ति भएर एकापसमा मर्ने मार्ने खेलमा नेपालीहरु होमिुन पर्ने विडम्वना आइलागेको छ ।
रुसी सेनामा सामेल भएका नेपालीहरु मारिने, वेपत्ता हुने र घाइते हुने क्रम पनि दिन प्रतिदिन बढेको बढ्यै छ । सरकारले नै सय जना बढी रुसी सेनामा भर्ति भएका नेपालीहरु बेपत्ता भएको बताइसकेको छ । देशभित्रको बेरोजगारी र आकर्षक कमाइको लोभमा नेपाली युवाहरु सोझै युद्धमा होमिन तयार हुँदै अवैध बाटोबाट अवैध रुपमा भर्ति हुन रुस पुग्ने गरेका हुन ।
युद्धकला त परै जाओस बन्दुक समात्न समेत नजान्ने र कहिल्यै गोला बारुद नदेखेका नेपालीहरु समेत युद्ध मैदानमा पुगेको खुलासा भईरहेको छ । नेपाल सरकार भने अनधिकृत रुपमा विदेशी सेनामा भर्ति हुने आफ्ना नागरिक कति छन् भन्ने समेत पत्ता लगाउन सकिरहेको छैन । नेपालीहरुलाई अनधिकृत भर्ति गर्ने रुसले समेत नेपाल सरकारको कूटनीतिक चासोको जवाफ दिईरहेको छैन । गएकालाई सुरक्षित नेपाल र्फकाउने र अब जान नदिने अन्तराष्ट्रि सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले बताउनुभयो ।
वैदेशिक रोजगारीमा रहेका तथा भिजिट भिसामा जान मिल्ने मुलुकहरुमा पुगेर मानव तस्करहरु मार्फत नेपालीहरु रुसी सेनामा पु¥याइएका हुन भन्ने चाहीँ खुलेको छ । जसरी गएका वा पुर्याएका भए पनि उनीहरुलाई स्वदेश फर्काउने सरकारको प्रयास सफल नभएको यादव बताउनुहुन्छ ।
त्यसो त रुस र युक्रेनमा पुगेका आफन्तजनलाई फर्काईदिन माग गर्दै नेपालमा रहेका परिवारजनले सरकारसँग हार गुहार गर्ने क्रम पनि बढेको छ । रुस र युक्रेन पुगेका आफन्तहरु वेपत्ता भएको भन्दै नियन्त्रणमा रहेका दलालहरुबाट केही खबर मिल्थ्यो कि भन्ने आसाले प्रहरी र प्रशासनमा धाउनेहरु पनि छन् ।
अहिलेसम्म रुसी सेनामा मात्रै नेपालीहरु भर्ति भएको खुले पनि द्वन्द्वरत अर्को मुलुक युक्रेनको सेनामा समेत नेपालीहरु पुगेको बुझिएको छ । तर, सरकारले भने अहिलेसम्म कुनै विरण संकलन गर्न सकिरहेको छैन । यो प्रकरणले नेपालको कूटनीतिक पहँुच र अन्तर्राष्ट्रिय साख समेत ध्वस्त भईसकेको त होइन भन्ने आशंका जन्माएको छ ।
युद्धको पीडामा नेपाल
प्रतिक्रिया दिनुहोस्