२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बालकुमारी घटनाबारे मन्त्री ज्वालाको तीन दिनमा तीनथरी अभिव्यक्ति


2.288k
Shares

काठमाडौं । यही पुस १३ गते दिउँसो राजधानीको बालकुमारीमा एकाएक चर्केको प्रदर्शनका क्रममा दुई युवा मारिएको घटनाले हरेकलाई स्तब्ध बनाएको छ । उक्त दुखद् घटनामा श्रम मन्त्रालयको नीतिगत अकर्मण्यता र प्रहरीबाट भएको अधिक बल प्रयोगसँगै भौतिक पूर्वाधार मन्त्रीको हेलचेक्र्याइ पनि उत्तिकै जिम्मेवार रहेको पाइएको छ ।

रोजगारीको सिलसिलामा कोरियाको पानीजहाज निर्माण कम्पनीमा परीक्षा दिएका तर, असफल भएका युवाहरुले कोरियाकै उत्पादनमूलक क्षेत्रका लागि पनि परीक्षा दिन पाउनु पर्ने माग गरिरहेका थिए । यसको सुनुवाई नहुँदा असन्तुष्टी बढ्दै गयो । तर, समाधानतर्फ न श्रम मन्त्रालयले तदारुकता देखायो न इपीएस कार्यालय गम्भीर बन्यो । फलतः असन्तुष्ट हजारौं युवाहरु सडक प्रदर्शनमा उत्रिए ।

यो स्थितिलाई गम्भीररुपमा लिनुको सट्टा प्रहरी परिचालन गरेर नियन्त्रण गर्ने प्रयास गरियो । त्यसक्रममा प्रहरीलाई भिड थेग्न मुश्किल भइरहेको बेला पार्टीको बैठकमा भाग लिन हिडेका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला झण्डा फहराउँदै त्यही बाटो भएर अघि बढ्नुभयो । पहिल्यै सवारी क्लियरेन्स लिएर जानुपर्नेमा त्यो त गरिएन, गरिएन उत्तेजक भिड देखेर पनि गाडी रोकिएन ।

त्यसमाथि मन्त्री नै उत्तेजक युवासँग विवादमा उत्रिनु पुग्दा स्थिति थप भयावह बन्न पुगेको सुरक्षा विश्लेषण गरिएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा सोमबार घटनाको विश्लेषण सुनाउँदै प्रहरी महानिरीक्षक बसन्त कुँवरले भने, मन्त्री र मन्त्रीका पिएसओको गलत निर्णय पनि एउटा कारण रह्यो ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त खुलेरै मन्त्री ज्वालाको कारण दुखद् अवस्था सिर्जना भएको दाबी गर्नुभयो ।

त्यसो त मन्त्री ज्वालाले घटना लगत्तै दिएका अभिव्यक्तिहरु पनि कम विवादस्पद छैनन् । उत्तेजक प्रदर्शन भैरहेको स्थानमा झण्डा फहराउँदै पुगेका मन्त्री ज्वालाको गाडी रोकेर युवाहरुले आक्रोस व्यक्त गर्दा उहाँले सम्झाउन सकेनन् । उल्टै आफ्नो मन्त्रालय त्यसमा जिम्मेवार नभएको जवाफ फर्काउनुभयो । परिस्थितिको विश्लेषण गरेर सैनिक पीएसओले त्यहाँबाट जोगाएर लगेपछि उहाँले आफू त्यहाँ नभएको अर्को सफेद झूठो प्रतिक्रिया दिनुभयो । उहाँले आफूलाई पार्टी बैठकमा छोडेर गाडी मन्त्रालय जाँदा आगजनीको घटना भएको प्रतिक्रिया सञ्चारमाध्यमहरुलाई दिनुभएको थियो । जवकि सार्वजनिक भएको भिडियोमा उहाँ त्यहाँ रहेको दृश्य स्पष्ट देखिएको छ ।

दुई जना युवाले ज्यान गुमाएको घटना सार्वजनिक भैसकेको अवस्थामा पनि मन्त्री ज्वालाले दिएको प्रतिक्रियामा संवेदनशीलता देखिएन । उहाँ घटनाको वास्तविक कारण र दुई युवा मारिएको सन्दर्भभन्दा गाडीमा भएको आगजनीको विषयमा बढी केन्द्रित हुनुभयो ।

घटनामा मन्त्री र मन्त्रीका पिएसओे मात्र नभई सुरक्षा कमाण्डको जिम्मेवारी सम्हालेको प्रहरीको युनिट र फिल्ड कमाण्डको कमजोरी पनि उत्तिकै देखियो । सो घटना हुने संंकेत पाएपछि गृह प्रशासनले चासो राख्दा इपीएसका प्रमुख गुरुदत्त सुवेदीले दिएको गैर जिम्मेवार अभिव्यक्ति अनि घटनास्थलको सुरक्षार्थ खटिएका प्रहरीका फिल्ड कमाण्डरको एकल निर्णयका कारण घटना भएको गृहमन्त्रीको दाबी छ ।

घटनाको छानवीनका लागि शुरुमा प्रहरी डीआइजी नेतृत्वमा र पछि उच्च अदालतका पूर्व न्यायाधीशको अध्यक्षतामा जाँचबुझ आयोग गठन भैसकेको छ । मृतकको परिवारलाई क्षतिपूर्ति दिने र ईपीएस कार्यालयबाट भएको गल्ती सच्याउने निर्णय पनि भएको छ । तर, समग्र घटना यतिमै सामसुम पार्ने संभावना भने टरेको छैन । यसको पहिलो नैतिक जिम्मेवारी घटनास्थलमा पुगेर वातावरण उत्तेजक बनाउने भौतिक पूर्वाधार मन्त्री, नीतिगत स्पष्टता तथा गुनासो व्यवस्थापन गर्न नसक्ने श्रम मन्त्री र सुरक्षा प्रबन्ध मिलाउन नसक्ने गृहमन्त्रीले लिनुपर्ने माग सर्वत्र उठेको छ ।