काठमाडौं । चिसो बढेसंगै उपत्यकामा रुघाखोकी र चिसोका बिरामीको संख्या उल्लेख्य मात्रामा बढेको छ । यति बेला छिमेकी देश भारतमा कोभिडको नयाँ भेरियन्टको संक्रमण तीब्र भएकाले सामान्य उपचारले रुघाखोकी निको नभए स्वास्थ्य संस्थामा जान चिकित्सले सल्लाह दिएका छन् ।
चिसोमा इन्फ्ुएन्जाका किटाणु र भारइस बढी सक्रिय हुने हुदाँ रुघाखोकीका बिरामी बढ्ने चिकित्सकहरु बताउँछन् । मौसमी रुघाखोकीलाई घरेलू उपचारबाटै निको गराउन सकिन्छ भन्ने आम विश्वास रहेको छ । तर रोग प्रतिरोधात्मक क्षमता कम हुने वृद्धवृद्धा, बालबच्चा र गर्भवती महिलाहरुमा यस्ता समस्या सामान्य देखिए पनि कहिलेकाँही गम्भीर समस्या पनि निम्याउन सक्ने हुदाँँ उनीहरुले बेलैमा उपचार गर्नुपर्ने चिकित्सकको भनाइ छ ।
रुघाखोकी आफैंमा कुनै रोग नभएपनि विभिन्न संक्रमणको लक्षणको रुपमा पनि रुघाखोकी लाग्न सक्ने बताइएको छ । रुघाखोकी लागेका व्यक्ति सकेसम्म भीडभाडमा नजाने, घरमै आराम गर्नुपर्ने र भीडभाडमा जानैपरे अरुसँग दुरी बनाउनुपर्ने तथा मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेर बहादुर पुनले सुझाव दिनुभयो ।

नेपाल सरकारले कोभिडको त्रास सकिएको बताए पनि पछिल्लो समय छिमेकी मुलुक भारतमा कोभिडको नयाँ भेरियन्टले स्वास्थ्य समस्या बढाइरहेको छ । खुला सिमानाका कारण भारतबाट नेपाल आउनेहरुबाट कोभिड सजिलै नेपाल भित्रिनेमा शंका छैन । त्यसैले अहिलेदेखि नै सतर्कता अपनाउनुपर्नेमा डा.पुनको सुझाव छ ।
नेपालमा अझै दुई महिना चिसो मौसम कायम रहने भएकाले चिसोबाट जोगिने, प्रशस्त झोलिलो तथा पोषिलो खानेकुरा खाने र रुघाखोकी जस्ता मौसमी समस्यामा लापरवाही नगरेमा जटिल समस्याबाट बच्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्