१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बैंक तथा वित्तिय संस्थामा बढ्दै खराब कर्जा


3.237k
Shares

काठमाडौं । आर्थिक संकटका कारण बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा अनुपात बढ्ने क्रम तीब्र भएको छ । पुरानो ऋण असुल नहुने र नयाँ कर्जा प्रवाह समेत नबढ्ने हुँदा बाणिज्य बैंकहरुको औसत खराब कर्जा दर ३ दशमलव ६६ प्रतिशत पुगेको छ ।

करिब डेढ वर्ष अघि अर्थात २०७९ को असारमा १ दशमलव ३१ प्रतिशत अर्थात ७४ अर्ब रहेको खराब कर्जा २०८० को असारमा ३ दशमलव ०२ प्रतिशतले बढेर १ खर्ब ८० अर्बको हाराहारीमा पुग्यो । अहिले औसतमा ३ दशमलव ६६ प्रतिशत देखिएपनि केहि बाणिज्य बैकहरुको खराब कर्जा दर ५ प्रतिशत नजिक पुग्दा वित्त समूहको खराब कर्जा ८ दशमलव ४ प्रतिशत नाघिसकेको छ ।

व्यावसायमा आएको संकुचनका कारण ऋणीहरुले ऋण तिर्ने क्षमतामा ह्रास आएको गुनासो गर्ने गरेका छन् । अर्कोतर्फ बढी खपत गर्ने युवा वर्ग पढ्ने या कमाउने नाममा हरेक दिन विदेश गईरहेका छन् । सरकारको पुजीगत खर्चको अवस्था पनि दयनीय छ । निर्माण क्षेत्रको अर्बाैँ रुपैयाँ भुक्तानी हुन सकेको छैन । सरकारले लगानीको वातावरण बनाउन नसक्दा लगानीकर्ताले ऋण लिएर लगानी गर्न डराईरहेका छन् । जसका कारण बैंकमा पैसा थुप्रिएको छ । त्यसले नगद प्रवाहमा पनि कमी ल्याएको छ ।

बैंकको कर्जा प्रवाह बढेको भए खराब कर्जाको अनुपात स्वतः कम हुने थियो । नेपाल राष्ट्रबैंक भने मूलुकको आर्थिक अवस्था सुधारोन्मूख रहेकाले अब खराब कर्जाको वृद्धि रोकिनेमा आसावादी देखिएयो नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठ बताउनुहुन्छ ।

निष्क्रिय कर्जाका कारण बैंकहरुले सम्भावित कर्जा नोक्सानी बापत प्रोभिजन गर्नुपर्ने रकम पनि दोब्बरभन्दा धेरैले बढेको छ । तर अब ऋणको व्याजदरमा लगातार कमी आइरहेकाले खराब कर्जाको दरमा पनि कमी आउने डा. श्रेष्ठको दाबी छ ।

पुरानो ऋण नउठ्ने र नयाँ कर्जाको माग पनि नहुने हो भने खराब कर्जादर नियन्त्रण कठिन हुन सक्छ । यही अनुपातमा खराब कर्जा बढ्दै जाने हो भने बैंकहरु कुनै पनि बेला समस्यामा पर्न सक्छन् । त्यसले मुलुकको आर्थिक क्षेत्रलाई झन् चुनौति खडा गर्ने छ । त्यसैले समयमै सम्बन्धित पक्षको ध्यान जान जरुरी छ ।