१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालमा सडक दुर्घटनाको दर्दनाक अवस्था


494
Shares

काठमाडौं । नेपालमा पछिल्ला वर्षहरुमा सडक दुर्घटना हुने क्रम झन् बढेको छ । सडक दुर्घटना बढी हुने देशहरुको सूचीभित्र पर्ने नेपालमा वर्षेनी सडक दुर्घटनाबाट सयौंले ज्यान गुमाउने गरेका छन् भने हजारौं घाइते भएर आजीवन कष्टकर जीवन बाँच्न बाध्य हुने गरेका छन् । तर नीति निर्माताहरुलाई सडक दुर्घटनाको यो दर्दनाक अवस्थाले कहिल्यै छुन सकेको छैन ।

गत शुक्रबार र शनिबार देशका विभिन्न जिल्लामा भएका सडक दुर्घटनामा २१ जनाको ज्यान गयो । काठमाडौंको चन्द्रागिरि, दाङ्ग, बागलुङ्ग र झापामा भएका दुर्घटनामा दुई दिनमा २१ जनाको जीवन समाप्त भयो भने दर्जनौं अस्पतालको शैयामा छट्पटाइरहेका छन् । मृत्यु हुने र घाइते हुनेका सयौं परिवारजनमा दुर्घटनाले दिने कष्टको कुनै हिसाब छैन । सडक दुर्घटनामा सडक र यातायातका साधनको दुरावस्था र चालकको अक्षमता उत्तिकै जिम्मेवार हुनेमा शंका छैन ।

शुक्रबार राती दाङ्गमा भएको दुर्घटना अत्यधिक गतिका कारण भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्की बताउनुहुन्छ । सवारी चालकले सवारी चलाउनु अघि राम्रोसँग यान्त्रीक जाँच गरि सकेपछि मात्र सवारी चलाउँदा दुर्घटना न्यूनिकरण हुनसक्ने प्रवक्ता कार्कीको भनाइ छ ।

ट्राफिक प्रहरीले उपलब्ध गराएको तथ्याक हेर्ने हो भने ५ वर्षभित्र १३ हजार मानिसले सडक दुर्घटनामा ज्यान गुमाइसकेका छन् भने ८० हजारभन्दा बढी घाइते भएका छन् । गत आर्थिक वर्ष २०७९÷८० मा मात्र २३ हजार ५ सय ९७ वटा सवारी दुर्घटना भएकोमा २३ सय ६९ जनाको मृत्यु भयो भने ५ हजार ७ सय ३८ जना गम्भीर घाइते भएको तथ्यांक छ । यी दूर्घटनाबाट ३७ हजार ३ सय ९२ सवारी साधनमा क्षति पुगेको थियो । चालु आर्थिक वर्ष २०८०÷८१ को ५ महिनामा १० हजार ७ सय ४६ वटा दुर्घटना भइसकेका छन् । जसमा ९ सय १६ को मृत्यु र २७ सय ५१ जना गम्भीर घाइते भएको देखिएको छ । बढ्दो दुर्घटना न्यूनीकरणका लागि सरकारले बिज्ञ सहितको छुट्टै निकाय गठन गर्नुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले बताउनु भयो ।

यसरी दिनदिनै सडक दुर्घटनाको संख्या बढ्दै जाँदा पनि सरकारले दुर्घटना न्यूनीकरण गर्नेतर्फ कुनै चासो देखाएको देखिँदैन । जसका कारण सडक यात्रा नै एउटा त्रासदी बन्दै गएको छ ।