२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


लिटिल बुद्धको नाममा ठूलो अपराध


19.266k
Shares

काठमाडौं । गत पुस २४ गते काठमाडौंको बुढानीलकण्ठस्थित निवासबाट पक्राउ परेका रामबहादुर बमजन उर्फ लिटिल बुद्धविरुद्ध सर्लाही जिल्ला अदालतमार्फत मुद्दा अघि बढेको छ । बम्जनमाथि हत्या, वेपत्ता र बलात्का जस्ता गम्भीर मुद्दाहरु लागेका छन् । तर, केही मानिसहरु भने मुद्दा प्रभावित गर्ने गरी प्रहरीले जबर्जस्ती बयान गराएको दाबी गर्दै हिडेका छन् ।

२०६२ साल जेठ २ गतेदेखि निराहार ब्रत गरेको भनेर एकाएक चर्चामा आएका बमजन बाराको जंगलमा तपस्या गर्दैदेखि विवादमा परेका थिए । स्वतन्त्र रुपमा पुष्टि हुन नसक्ने थुप्रै कथा बम्जनका सम्बन्धमा बुनिएका थिए । २०६८ साल जेठ २ गते ६ वर्षको तपस्या सकिएको भन्ने दाबीसाथ प्रस्तुत हुँदा उनी १६ वर्षका मात्रै थिए । बाराको जंगलमा तपस्या गर्दै गरेको अवस्थामा सार्वजनिक भएपछि उनलाई ‘लिटिल बुद्ध’ को उपनाम दिइयो । उनले ६ वर्ष तपस्या गरेको भन्ने प्रचारमै उतिबेलै पनि प्रश्न नउठेको होइन । पोखराको एउटा चामल मिलमा काम गर्दा घाइते भएपछि घरमै बसेको समयलाई तपस्या भनेर प्रचार गरिएको तथ्य बाहिर आएको थियो ।

२०४६ सालमा जन्मिएका बम्जनले दुई कक्षासम्म पढेपछि लामा ज्ञान प्राप्तिका लागि भारतको देहरादुनको एक गुम्बामा गएका थिए । दुई वर्ष देहरादुनमा पढेर छुट्टिमा घर आएका बम्जन त्यसपछि गुम्बामा फर्किएनन् ।

बाराको हल्खोरिया जङ्गलमा तपस्या गर्नेताका उनलाई हेर्न देश विदेशका मानिसको घुँइचो लाग्ने गर्दथ्यो । सोही क्रममा पश्चिमा मिडियाले उनलाई लिटल बद्धको संज्ञा दिएका थिए । सुरुसुरुमा बम्जनका अनुयायीहरूले गौतम बुद्धको अर्को अवतारको रुपमा विश्वास गरेका थिए । २०६२ फागुन २७ का दिन उनी एकाएक हराए भने २०६४ को साउनमा बल्ल बाराको अर्को जंगलमा देखा परे । २०६६ सालमा बम्जनको समूहले गाउँलेको समूहमाथि आक्रमण गर्ने प्रयास गर्यो । त्यसबेला बम्जनले आफ्नो ध्यानमा बाधा पु¥याएको दावी गरेका थिए ।

विवादैविवादका बीच अनुयायीको संख्या बढ्दै गएको बेला २०७५ सालमा बम्जनमाथि १८ वर्षीया अनुयायीलाई दुई वर्षसम्म पटक पटक बलात्कार गरेको आरोप लाग्यो । बम्जनका समर्थकहरूले भने अनुयायी चोरीमा संलग्न भएको र उनलाई गुम्बाबाट निकालिएको दावी गरेका थिए । यस्तै, बाराका सुरेश आलेमगर, मकवानपुरका सन्चलाल वाइबा र फुलमाया रुम्बा तथा नुवाकोटका चुल्मा र कर्मा भनेर बोलाइने चिनिमायाँ तामाङलाई बेपत्ता बनाएको आरोप पनि उनीमाथि लागेको छ ।

२०७६ सालमा बम्जनका विभिन्न आश्रमबाट चार जना अनुयायी हराएको खुल्यो । त्यसपछि उनको आश्रममा प्रहरीले छापा मारेपनि उनी भेटिएनन् । २०७६ माघ २३ गते सर्लाही जिल्ला अदालतले बम्जनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसको अर्को दिन सिन्धुली प्रहरीले सर्लाही प्रहरीको अनुरोधमा उनको आश्रममा छापा मार्यो । तर त्यस बेला बमजन भाग्न सफल भए । त्यसको चार महिनापछि प्रहरीको दोस्रो निशाना समेत ‘मिस फायर’ भयो ।

बम्जन २०७७ सार ४ गते पनि उम्किन सफल भए । यस्तै, जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सिन्धुपाल्चोक आश्रमबाट फुलमाया रुम्बा पासाङलाई बेपत्ता पारेको भन्दै उनका भाइ विजय रुम्बाले निवेदन दिएका छन् । यस्तै, नुवाकोट प्रहरीमा परेको निवेदनमा घर आएकी फुलमाया सिन्धुली आश्रम जान्छु भनेर हिँडेको उल्लेख छ । नुवाकोट मेघान गाउँपलिकाकी चिनिमायाँ तामाङ २०६९ सालमा घर आएकी थिइन् । चुन्मा र कर्मा भनेर बोलाइने उनी तपस्वी बमजनको आश्रममा आनी थिए ।

नुवाकोट प्रहरीमा दिदी गंगामायाले बहिनी खोजिदिन निवेदन दिएका थिए । यी दुईसँगै मकवानपुरका सञ्चलना वाइबा र बाराका सुरेश आलेमगर बम्जनकै आश्रमबाट हराएकोले खोजीदिन प्रहरीमा निवेदन परेका छन् । उनी, सात वर्षसम्म सर्वसाधारण र परिवारका सदस्यलाई बन्धक बनाई कुटपिट गरेको अर्को विवादमा तपस्वी बमजन मुछिएका थिए ।

यस्तै विदेशी नागरिकलाई बन्धक बनाएको, वन क्षेत्रका विषयमा विवाद गरेको र बलात्कार तथा हत्या गरेकोसम्म आरोप पनि उनीमाथि रहेका छन् । यौन हिंसा, हत्या र मानिसहरू बेपत्ता पारेको लगायतका आरोपमा उजुरी पर्दा पनि पक्राउ पर्नबाट बच्दै आएा बम्जन अन्ततः गत पुस २४ गते भने पक्राउ परे । उनीमाथि लागेका आरोपको निश्पक्ष छानविन गरी पीडित पक्षलाई न्याय दिनु जति जरुरी छ, उनलाई लिटिल बुद्ध भनेर पछि लाग्नेहरुको चित्त बुझाउनु पनि उत्तिकै आवश्यक छ ।