
काठमाडौं । कमजोर प्रणालीको परिणाम मानिने भ्रष्ट्रचारमा सुधार नहुँदा मुलुकको विकासमा बाधा पुगिरहेको छ । प्रशस्त सम्भावना भएर पनि राजनीतिक इच्छाशक्ति नहुनु नै भ्रष्टाचार मौलाउनु प्रमुख कारण रहेको विज्ञहरुले औंल्याउँदै आएका छन् । पशुपतिनाथनको जलहरीदेखि आफ्नै नागरिकलाई शरणार्थी बनाएर विदेश पठाउनेसम्मका हर्कत हुने नेपालमा सुशासन आकाशको फल बन्दै गएको छ ।
मुलुक संघियतामा गएसँगै गाउँ-गाउँमा सिंहदरबारको नारा फैलाइयो । तर, जनताका अधिकारका कुरा त त्यस्तै, हो भ्रष्टाचार चाहि अहिले गाउँ-गाउँमा पुगेको भन्दै निराशा पनि उत्तिकै बढ्दै गएको छ । हुन पनि सन् २०१२ को ट्रान्परेन्सी इन्टरनेशनलको तथ्याङ्लाई हेर्ने हो भने १ सय ४० देश सम्मलित राष्ट्रहरु मध्ये जम्मा २७ अंक पाएको नेपाल १ सय ३९औ स्थानमा थियो । त्यस पछिका तथ्याङ्मा कहिले केहि सुधार हुदै सन् २०२३ मा कुल १ सय अंकमा ३५ अंक पाएको नेपाल विश्वका १ सय ८० मुलुकमा नेपाल १ सय ८औं स्थानमा छ ।
तुलनात्मक रुपमा सुधार जस्तो देखिए पनि लगातार फेल हुँदै आएको विद्यार्थीले अंकमा सुधार गरेपनि उत्तीर्ण अंक ल्याउन नसकेको देखिएको छ । भ्रष्टाचार नियन्त्रण गर्न संवैधानिक निकायहरु चोखो हुनुपर्ने र त्यहा काम गर्ने व्यक्ति सवल र सक्षम हुनुपर्ने ट्रन्परेन्सी इन्टरनेसनल नेपालका पूर्वअध्यक्ष श्रीहरि अर्याल बताउनुहुन्छ ।
भ्रष्ट राजनीतिक नेतृत्व र त्यही राजनीतिक नेतृत्वसँग मिलेर खान पल्केको कर्मचारीतन्त्रका कारण देशमा भ्रष्टाचार झन् पछि झन् विकराल बन्दै गएको छ । जसको प्रत्यक्ष असर देशको दीगो विकासमा परिरहेको छ ।
भ्रष्टाचार नियन्त्रण हुन नसक्दा राज्यको सेवा प्रवाह कमजोर हुनुका साथै बाह्य लगानी पनि आउन सक्दैन । नेतृत्व बोलीमा भन्दा व्यवहारमा पक्का हुनुपर्ने पूर्वअध्यक्ष अर्याल बताउनुहुन्छ ।
जोसँग पैसा र पावर छ उसैको पूजा हुने प्रवृत्तिका कारण पनि मानिसहरु पैसाका लागि जस्तोसुकै हर्कत गर्न तयार हुने प्रवृत्ति बढ्दो छ । आवश्यकता भन्दा पनि चरम महत्वाकांक्षाका कारण राजनीतिक र प्रशासनिक क्षेत्रमा भ्रष्टाचार व्याप्त छ । यी दुई क्षेत्रबाटै सुधार नभएसम्म देशमा सुशासनको कल्पना पनि गर्नु निरर्थक छ ।
प्रतिक्रिया दिनुहोस्