१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


छिटो र धेरै आम्दानीको प्रलोभनमा युवा, जानी-नजानी अवैध कारोबारको शिकार


1.027k
Shares

काठमाडौं । नेपालमा क्रिप्टो करेन्सी, अनलाइन जुवा वा नेटवर्किङ जस्ता विषय नेपालमा अवैध छन् । तर, छिटो आम्दानी हुने प्रलोभनमा परेर युवा वर्ग भने यस्ता गतिविधिप्रति आकर्षित हुने गरेको पाइएको छ । जसका कारण जानी नजानी मानिसहरु अवैध कारोबारको शिकार हुने गरेका छन् ।

२०७४ सालमै क्रिप्टो करेन्सीसम्बन्धी कारोबारलाई अवैध घोषणा गरिसकेको नेपाल राष्ट्र बैंकले त्यसको कारोबार नगर्न समय समयमा सूचना जारी गर्दै आएपनि यसको नेटवर्क भने युवा वर्गबीच झागिंर्दै गएको छ ।

कुनै पनि सरकारबाट प्रत्याभूति नपाएको ब्लकचेनमा आधारित क्रिप्टो करेन्सीको कारोबार कतिपय विकसित मुलुकहरुमा भने वैध रहेको छ । ती देशहरुले कर लिएर कारोबार गर्न दिए पनि नेपालमा भने राष्ट्र बैंकले क्रिप्टोलाई प्रतिबन्ध नै लगाएको छ । सरकार र केन्द्रिय बैंकले नियन्त्रण र नियमन गर्न नसकिने भन्दै स्वदेश वा विदेशमा बस्ने नेपालीहरुलाई क्रिप्टोको कारोबार प्रतिबन्ध लगाइएको छ ।

अर्थविद् डा. अनलराज भट्टराई नेपालमा अनौपचारिक रुपमा क्रिप्टोको कारोबार हुने गरेको भन्दै अवैधानिक कारोबारका कारण प्रतिफल भन्दा नोक्सानी बढी हुनसक्ने बताउनुहुन्छ ।

विकसित राष्ट्रहरुमा क्रिप्टो उद्योगका रूपमा विकास भइरहेकाले पूर्ण रूपमा प्रतिबन्ध लगाउनु उचित नहुने विज्ञहरुको मत रहेको छ । प्रविधिको तीब्र विकासका कारण विश्व बजार नै क्रिप्टो करेन्सीतर्फ जान सक्ने सम्भावना रहेकाले नेपालले पनि नियमनकारी व्यवस्था गर्न ढिलाई गर्न नहुने सुझाव पनि अर्थविद् भट्टराई दिनुहुन्छ ।

राष्ट्र बैंकले भने क्रिप्टो करेन्सीको कारोबार अवैध भएको भन्दै समय समयमा सार्वजनिक सूचना जारी गरी सचेत बनाउँदै आएको छ । त्यसमाथि पछिल्लो समय क्रिप्टो करेन्सी र हुण्डीका कारण नेपालको अर्थतन्त्रमा नकारात्मक असर परेको पनि देखिएको छ । राष्ट्र बैंक भने आफ्नो सतर्कतापूर्ण नीतिका कारण क्रिप्टोलगायतका अवैध कारोबार नियन्त्रणमा आएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट बताउनुहुन्छ ।

विदेशमा बस्ने नेपालीहरुका कारण नेपालको युवा वर्ग क्रिप्टो करेन्सीतर्फ आकर्षित भएको पाइएको छ । बिटकोइनलगायतका क्रिप्टोको कारोबार, हाइपर–नेटवर्किङ, अनलाइन जुवा जस्ता अवैध आर्थिक गतिविधिबाट छिटो आम्दानी हुने लोभमा युवा वर्ग फस्ने गरेको पाइन्छ ।