
काठमाडौं । चक्रपथको कलंकी-कोटेश्वर सडकखण्डमा प्रस्तावित तीन वटा आकाशे पुलको निर्माण कार्य अलपत्र छ । निर्माणका लागि ठेक्का सम्झौता भएको छ वर्ष बित्न लाग्दा पनि कतै कछुवा को गतिमा काम हुँदै छ भने कतै जग खनेर अलपत्र छोडिएको छ ।
सानेपाको आकाशे पुलको काम अलपत्र अवस्थामा छाडिएको छ भने महालक्ष्मीस्थानको आकाश पुलको अवस्था पनि उस्तै लथालिङ्ग छ । बल्खुमा आकाशे पुल निर्माणका लागि जग खनेको चार वर्ष भइसकेको छ तर थप काम अगाडि बढ्न सकेको छैन ।
कोभिडपछि डिजाइन रिभ्युका कारण काम रोकिएको र सरकारले आवश्यक बजेट उपलब्ध गराउन नसक्दा आकासे पुल निर्माणकाको काम ठेक्का सम्झौता भएको छ वर्ष बित्दा पनि अघि बढ्न नसकेको चक्रपथ सुधार आयोजनाका प्रमुख कृष्णनाथ ओझा बताउनुहुन्छ ।
बल्खुको आकाशे पुल निर्माणका लागि २०७४ भदौ २९ गते महर्जन पूर्णचण्डी निर्माण कम्पनीसँग सम्झौता भएको थियो । चार करोड छ लाख ७८ हजार रुपियाँ लागत रहेको यो पुल २०७५ मङ्सिरमा निर्माण भईसक्नु पर्नेमा तीन पटक म्याद थपेर २०८१ असार मसान्तसम्म पुर्याइएको छ । यसै गरी महालक्ष्मीस्थानमा आकाशे पुल निर्माणका लागि पनि महर्जन–पूर्णचण्डी–ड्रामासंग नै चार करोड ३२ लाख ४३ हजारमा सम्झौता भएको थियो । २०७५ असोज २८ गतेसम्म सकिनु पर्ने कामको म्याद थपेर २०८० चैत मसान्तसम्म लम्ब्याइएको छ ।
यस्तै, सानेपामा आकासे पुल निर्माणका लागि पनि सोही महर्जन–पूर्णचण्डी–सप्तम् निर्माण कम्पनीसँग ४ करोड १९ लाखमा सम्झौैता भएकोमा यो पुल निर्माणको म्याद पनि २०८१ असार मसान्तसम्म पुर्याइएको छ । ठेकेदार कम्पनीले यी तीनवटै आकाशे पुलको ठेक्का लिएपछि ‘साइट मोबिलाइजेसन’ को २० प्रतिशत रकम बुझिसकेको थियो । ठेक्का दिने सरकारले समयमा रकम भुक्तानी गर्न नसकेका कारण ठेकेदारलाई कारवाहिको दायरामा ल्याउन नसकिएको योजना प्रमुख ओझा बताउनुहुन्छ ।
यस बीचमा चक्रपथ विस्तारको काम गरेको चीन सरकारले भने कोटेश्वर, ग्वार्को, सातदोबाटो र बागडोलमा आकाशे पुल निर्माण गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ । आठ लेनको चक्रपथमा पैदलयात्रीलाई बाटो काट्न सहज होस् भनी प्रति एक किलोमिटरमा आकाशे पुल बनाउने योजना रहेकोमा अहिलेसम्म नेपाली ठकेदारले जिम्मा लिएका पुलहरु निर्माण नै हुन नसकेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्