२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


एआई प्रविधि उपत्यका ९ स्थानमा जडान, आपाराधिक गतिविधि नियन्त्रण गर्न प्रभावकारी


1.521k
Shares

काठमाडौं । पछिल्लो समय विश्वभर धेरै प्रयोगमा आएको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) नेपालमा पनि प्रयोग गर्न थालिएको छ । काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीको समन्वयमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा एआई सिसी क्यामरा जडान गर्न थालेको छ । विभिन्न आपाराधिक गतिविधि नियन्त्रण र अपराधिको पहिचान गर्न यो प्रविधि निकै प्रभावकारी हुने विश्वास गरिएको छ ।

सुरक्षित काठमाडौं उपत्यका, हाम्रो प्रतिवद्धता भन्ने अभियान अन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं महानगरपालिका र उपत्यकाभित्रका अन्य महानगर तथा नगरपालिकाहरुसँगको समन्वयमा एआई सीसीटीभी जडान कार्यक्रम अघि बढाइएको हो । सीसीटीभीमा एन.पी.आर अर्थात अटोमेटिक नम्बर प्लेट रिकोग्नाइजेसन, एफ.आर.एस अर्थात फेसियल रिकोग्निजेसन सिस्टम जडान गरिएको हुन्छ ।

एआई सिसीटिभीले सडकमा आवतजावत गर्ने हरेक व्यक्तिको रुप, रंग र भेषसहितको फोटो सिधै नेपाल प्रहरीको सर्वरमा पठाइ तत्काल सुरक्षित राख्ने गर्दछ । जसका कारण जनुसकुनै प्रकारका अपाराधिक गतिविधिमा संलग्न व्यक्तिको पहिचान छिटो र छरितो ढंगले हुने प्रहरीको विश्वास गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेश मैनालीले बताउनुभयो ।

प्रविधिमैत्री प्रहरीको अवधारणा बमोजिम हाल काठमाडौं उपत्यकाका विभिन्न १५० भन्दाबढी स्थानमा यस्ता सीसीटिभी जडान भइसकेको छ । यी एआई सिसीटिभीहरु अपराध गर्नेहरुका लागि निकै चुनौति बन्ने काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता मैनालीले बताउनुभयो ।

अपराधिक कृयाकलापमा मात्रै नभई यस प्रविधि अन्तर्गत ए.न.पी.आर अर्थात अटोमेटिक नम्बर प्लेट रिकोग्नाइजेसन हुने भएकाले स्पीड कन्ट्रोलका लागि मद्धत हुने छ । ललितपुरका महालक्ष्मीस्थान र सानेपामा यो प्रविधि जडान भइसकेको छ भने काठमाडौंका तिनकुने, कोटेश्वर, महाराजगञ्ज, गोंगबु बसपार्क र नागार्जुन नगरपलिकाको नैकापचोक, हाई भिजन कोलोनी, र थानकोटको खरीबोटमा समेत जडान भईसकेको छ ।

अपराध नियन्त्रणका लागि मात्रै नभई सडकमा हुने अनेकखाले लापरबाही नियन्त्रणका लागि निकै उपयुक्त हुने यो प्रविधिको प्रयोग अन्यत्र पनि विस्तार गर्नु उचित हुने देखिन्छ ।