२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


अर्घाखाँचीमा १२७ वटा खानेपानी आयोजनाहरु अलपत्र


169
Shares

अर्घाखाँची। अर्घाखाँचीमा प्रदेश तर्फका १२७ वटा खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेका छन् । तीन जिल्ला हेर्ने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका ७० वटा योजना समेत बजेट अभावमा कार्यान्वयनमा समस्या परेको छ ।

अर्घाखाँचीमा चालु आर्थिक वर्ष निर्माण सम्पन्न हुने १२७ वटा खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेका छन् भने क्रमागत ५८ वटा खानेपानी योजना सम्पन्न भए पनि भुक्तानी गर्न नसकिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय अर्घाखाँचीका प्रमुख इञ्जिनीयर रामभरोस यादवले बताउनुभयो । उहाँले १० करोड बढी रकम भुक्तानी गर्न बाँकी रहेको बताउनुभयो ।

यस्तै, सर्शत तर्फका ३५ वटा आयोजना मध्ये २५ वटा आयोजनामा पनि बजेट अभावमा अलपत्र परेका छन । यता जिल्ल्लाको शितगंगा नगरपालिका वडा नम्बर १० मा खानेपानी आयोजनाको ट्याङकी निर्माण भएको करिब २ वर्ष हुन लाग्यो बजेट अभावमा विद्युतको व्यवस्था नहुँदा आयोजना अलपत्र परेको स्थानीय बुद्वी पौडेलले बताउनुभयो ।

अर्घाखाँची, गुल्मी र पाल्पा जिल्ला हेर्ने गरि स्थापना भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सन्धिखर्कमा ३ जिल्लाका लागि यो आर्थिक वर्षमा ७० वटा योजना भएता पनि बजेट अभावका कारण संचालनमा ल्याउन कठिनाइ भएको कार्यालय प्रमुख किरण आचार्यले बताउनुभयो ।

सोहि कार्यालयबाट करिब २५ सय घरधुरीलाई समावेश गरेर अर्घाखाँचीको छत्रदेव ४ हाडेखोला चिदिका बृहत् लिफ्ट खानेपानी लगायतका ४ वटा ठूला आयोजना गत वर्षदेखि काम भैरहेको छ । बजेट व्यवस्थापनमा सम्बन्धीत निकायले समयमै ध्यान दिन जरुरी छ ।