
काठमाडौं । ललितपुरको प्राचिन हिति (ढुंगेधारा) सभ्यता प्रणालीको ऐतिहासिक शहर हो । पुराना हितिहरुमा विभिन्न कारणले पानी सुक्दा हिति सभ्यता नै नासिने हो कि भन्ने आशंका बढिरहेको बेला पछिल्लो समय केही आशा पलाएको छ । दशकौंदेखि सुख्खा रहँदै आएका हितिहरुबाट अहिले पानी झर्न थालेको छ ।
प्राचिन मानव निर्मित जल प्रणालीको अभिन्न अंग हिति उपत्यकाको मौलिक सभ्यता हो । लिच्छवीकाल भन्दा अघिदेखि विकसित भएको हिति सभ्यताले त्यस बेलाको उच्च कोटीको मानव विकासको बारेमा बुझन् सकिन्छ । तर, समय क्रमसँगै अनियन्त्रित, अव्यवस्थित र सम्पदामैत्री शहरी विकास हुन नसक्दा हिति सभ्यतामा नासिने संघारमा पुगेको छ ।
तर, अहिले हिति सभ्यता जोगाउन सकिन्छ कि भन्ने आशा पनि पलाएको छ । दशकौंपछि सुख्खायाममा पाटनका हितिहरुबाट पानी कलकल बग्न थालेको छ । पाटनमा ६० वटा हितिहरु रहेका छन् । गत माघ पहिलो साता मेलम्चीको पानी नियमित वितरण हुन थालेपछि डीप बोरिङ्ग रोकिँदा हितिहरुमा पानी पलाउन थालेको हो । भुमिगत पानीको सतह बढेपछि हितिहरुबाट सुख्खायाम पनि पानी आउन सुरु भएको र पुनः डिप बोरिङबाट पानी तान्न नपर्ने हो भने पाटनका भित्रि शहरका हितिहरुबाट वर्र्षैभरी पानी बग्ने दाबी भूमिगत जल संरक्षणविद् सुशील श्रेष्ठ गर्नुहुन्छ ।
पाटनमा डेरा गरि बस्ने हुम्लाका शुशिला शाही सुख्खायाम पनि हितिबाट पानी आएको देखेपछि दंग देखिहुन्छ । उहाँले पहिले जस्तो पानीको लागि दुःख नभएको बताउनुभयो । तर, मेलम्चीको पानी नियमित आउनेमा शंका गर्दै संरक्षणविद् श्रेष्ठ यसमा जनस्तरको खबरदारी निरन्तर जरुरी रहेको बताउनुहुन्छ ।
नियमित मेलम्चीको पानी वितरणका लागि हस्तेक्षेपकारी खबरदारी आवश्यक छ । डीप बोरिङ्ग रोकिएमा हितिहरुको भूमिगत जलाधार क्षेत्र र भूमिगत पानी प्रणालीलाई संरक्षण गर्न सकिने उदाहरण पाटनले देखाएको छ । त्यसो भयो भने हजारौं वर्षको हाम्रो हिति पहिचान, सभ्यता र सम्पदालाई भावी कयौं पुस्तासम्म बचाउन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्