१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बबिता भन्छीन् – ‘लघुवित्तबाट लिएको ऋण तिर्न नसेकेर श्रीमानले आत्महत्या गरे, ऋण अझै छ’


1.638k
Shares

काठमाडौं । लघुवित्त पीडितहरु राजधानी केन्द्रीत आन्दोलनका लागि काठमाडौंमा छन् । विभिन्न जिल्लाका गाउँ गाउँबाट आएका पीडितहरुमा अधिकांश महिला छन् भने अनपढहरुको संख्या पनि उत्तिकै छ । ऋणको साँवा भन्दा बढी व्याज तिर्दा पनि ऋण जस्ताको तस्तै रहेको र लघुवित्तले उठिवास गराएको गुनासो उनीहरुको छ ।

नवलपरासीकी बबिताका श्रीमानले लघुवित्तबाट लिएको ऋणको किस्ता तिर्न नसेकेपछि आत्महत्या गरेको पीडा सुनाउँदा उनको आँखाबाट आँसु रोकिएन । अधिकांश जिल्लाका गाउँ गाउँमा यस्ता पीडाका कथाहरु छन् । कुनै व्यव्साय सञ्चालन गर्नका लागि भनि लघुवित्तबाट लिएको ऋण तिर्दातिर्दा नसकिएर घरखेत नै लिलामीमा पर्ने, सवारीसाधन खोसिने र घरबास नै उठिवास हुने अवस्था रहेको गुनासो पीडितहरुको छ ।

लघुवित्त संस्थाहरुको ज्यादतीविरुद्ध घरासयी काम छाडेर हप्ता दिनको पैदल यात्रा गरी यिनीहरु न्याय खोज्दै राजधानी आएका पीडितहरु सिफलचौरमा बास बस्दै आएका छन् । उनीहरु मध्ये केहीले घरबाटै ल्याएको रसदपानीले गुजारा चलाएका छन् त कतिले अलिअलि भएको पैसाले छाक टार्ने गरेका छन् ।

न्याय खोज्दै राजधानी आउने लघुवित्त पीडितहरुमा हरेक उमेर समूह, देशका हरेक क्षेत्र, जात धर्म र समुदायका रहेका छन् । उनीहरुको एउटै माग छ ऋणको साँवा बाहेक ब्याज मिनाहा होस ।

लघुवित्त संस्थाहरुले हिसाब किताबमा गडबडी गर्ने गरेका कारण आफुले लिएको रकम बराबरको ऋणको व्याज तिर्दा पनि ऋण जस्ताको तस्तै रहेको गरेकोे आरोप उनीहरुको छ ।

६६ जिल्लाबाट आएका लघुवित्त पिडीतहरुहरुमा अधिकांश महिलाहरु रहेका छन् भने उनीहरु अधिकांशले पढेलेखेका पनि छैनन् । तर, उनीहरु न्याय खोज्दै राजधानी आएको पहिलो पटक भने होइन । यसअघि पनि सरकारले माग सम्बोधन गर्ने आश्वासन दिएपछि गाउँ फर्किएका उनीहरु यस पटक फेरि कस्तो आश्वासन लिएर फर्कने हुन ? प्रतीक्षाको विषय बनेको छ ।