१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काभ्रेको पाँचखालमा १८ देशका ११ सय सैनिक


1.911k
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वशान्ति कार्यमा खटिएका १८ मुलुकका ११ सय सैनिकको सहभागितामा नेपालमा बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास चार’ सुरु भएको छ । काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सुरु भएको अभ्यास फागुन २१ गतेसम्म सञ्चालन हुनेछ ।

अभ्यास शान्ति प्रयास-४ । नेपाली सेना र अमेरिकी सेनाको समन्वयमा काभ्रेको पाँचखालमा सञ्चालन भइरहेको छ । संयुक्त राष्ट्रसंघिय शान्ति स्थापना मिसनमा जानु अघि अनिवार्य रुपमा तालिम लिनुपर्ने प्रावधान अनुसार यो वर्ष यस प्रकारको तालीमको जिम्मा नेपालले पाएको हो । त्यसो त यसअघि सन् २०००, २०१३, २०१७ मा पनि नेपालले यस प्रकारको अभ्यास तालीम सम्पन्न गरिसकेको छ ।

संयुक्त राज्य अमेरिकी सरकारको ग्लोबल पिस कोअपरेशन इनिटिएटिभको सहयोगमा नेपालले सञ्चालन गरेको तालिममा १८ राष्ट्रका ११ सय सैनिक सहभागी छन् । जसमा ४ सय ७० विदेशी सेना सहभागी छन्् ।

शान्ति स्थापना मिसनमा सहभागी हुने फौजको पेसागत दक्षता र आपसी समन्वयात्मक क्षमता अभिवृद्धि सुनिश्चित गर्ने उद्देश्यले आयोजित तालिममा सहभागी राष्ट्रका सैनिकहरुलाई नेपाली सेनाका हरेका दर्जाका कमाण्डरहरुले समन्वय गरिरहेका छन् । व्यवसायिक कार्यशैली विकासका लागि गरिने यस्ता तालिम विभिन्न चरणमा दिने गरिन्छ । जसमा शत्रु पक्षको प्रतिकार गर्ने रणनीतिदेखि मिसनका क्रममा आइपर्ने समस्याको समाधान, सुरक्षा चुनौतीको सामना गर्ने लगाएतका विषयमा तालिम दिने गरिएको छ ।

यी बाहेक शत्रुको आत्रमणबाट घाइते भएको अवस्थामा प्रारम्भिक उपचार विधी, युद्धमा हराएका आप्mना साथीहरुको खोजी र उद्धार लगाएत विभिन्न चरणका तालिम पनि यसमा समावेश छन् । हाल विश्वका ३७ राष्ट्रका १ लाख ४९ हजार सैनिक शान्ति मिसनमा आवद्ध छन् जसमा नेपाली सेनाका ५ हजार ८ सय ८५, सशस्त्र प्रहरीका २ सय २ र नेपाल प्रहरीका ४४ जना रहेका छन् ।

काभे्रको १ सय ६५ हेक्टर क्षेत्रफलमा फैलिएको पाँचखालको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विभिन्न चरणमा भइरहेको यो तालिमले नेपाल पनि विदेशी भुमी र सेनासरह तालीम दिन र युद्ध अभ्यास गर्न सक्षम छ भन्ने पुष्टि गरेको छ ।
शान्तिभूमिमा शान्ति मिसन तालिम !