१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मानव तस्करीको बदलिँदो स्वरुप : नियन्त्रणमा चुनौती


364
Shares

काठमाडौं । नेपालमा पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारका आपराधिक घटनामा वृद्धि हुँदै गएको छ । केही वर्ष अघिसम्म भारततर्फ हुने ओसारपसार अहिले परिधि बढाँउदै युरोप र अमेरिकासम्म पुगिसकेको छ । मानव तस्करीको बदलिँदो स्वरुपले यसको नियन्त्रणमा पनि उत्तिकै चुनौती थपिँदैछ ।

पछिल्लो समय नेपालमा मानव तस्करीको अपराध बढेको प्रहरी तथ्यांकले देखाएको छ । लागुऔषध र हातहतियार कारोबार पछि विश्वमा तेश्रो ठूलो संगठित अपराधको रुपमा मानव बेचबिखन तथा ओसारपसार देखिएको छ । महिला तथा बालबालिकासँगै वयस्क पुरुषहरु यो अपराधबाट पीडित छन् ।

पछिल्लो समय बढी पैसाको प्रलोभन दिएर अवैध तरिकाले विदेशी सेनामा समेत पुर्‍याउने गरेको पाइएको छ । मानव बेचबिखन तथा ओसारपसार अपराधको दायरा भारतमा मात्र सिमित नभइ खाडी मुलुक हुँदै अफ्रीकन मुलुक युरोपदेखि अमेरिकासम्म विभिन्न रुपमा मानव तस्करी हुने गरेको मानव बेचबिखन ब्युरोका प्रमुख ओम बहादुर रानाले बताउनुभयो ।

मानव बेचबिखन तथा ओसापसार नियन्त्रण ब्युरोले उपलब्ध गराएको विगत ५ वर्षको तथ्यांक अनुसार गत आर्थिक वर्षभन्दा चालू आर्थिक वर्ष २०८०÷०८१ को ८ महिनाको फागुनसम्ममा मानव बेचबिखन तथा ओसारपसार अपराधमा वृद्धि भएको देखाएको छ । तथ्यांकमा २०७६÷०७७ मा ३६, ०७७÷०७८ मा १२०, ०७८÷०७९ मा २४, आर्थिक वर्ष २०७९÷०८० मा ४३ र चालू आर्थिक वर्ष २०८०÷८१ को ८ महिनाभित्र ४२ दर्ता भएको छ भने बाँकी ४ महिनामा अझै बढ्न सक्ने ब्युराले जनाएको छ । नेपाल भरी २६५ वटा मुद्दा दर्ता भएको नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोका प्रमुख ओमबहादुर रानाले बताउनुभयो ।

त्यस्तै पीडितको सख्या हेर्ने हो भने महिला २६४ र पुरुष ७८ गरि ३४२ रहेको छ । अभियुक्तमा पुरुष १५७ र महिला ५२ जना गरि २०९ जना रहेका छन् । त्यसै गरि आर्थिक वर्ष २०७६÷०७७ देखि चालू आर्थिक २०८०÷०८१ को फागुन मसान्तसम्ममा मुद्दा दर्ता संख्या २६५ र पक्राउ संख्या २०९ रहेको छ । २८९ पुरुष र १४१ महिला गरि ४३० जना फरार रहेको तथ्याङकमा उल्लेख छ ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख ओमबहादुर रानाका अनुसार गत आर्थिक वर्षभन्दा चालू आर्थिक वर्षमा मानव बेचबिखन तथा ओसरपसार अपराधमा वृद्धि भएको बताउनुभयो । ब्यूरोका प्रमुख राना अनुसार यसरी बेचबिखनमा परेका युवा युवतीहरूलाई एक समूहले आकर्षक कामको प्रलोभन देखाएर विदेशमै अलपत्र पार्ने गरेको जानकारी गराउनुभयो । जघन्य अपराध रोकथामका लागि मानव बेचबिखन तथा ओसापसार नियन्त्रण ब्युरोले समय समयमा स्थानीय जनसमुदायसँग मिलेर जनचेतना मुलक कार्यक्रमको आयोजना गर्दै आएको ब्युरोका प्रमुख रानाको भनाइ छ ।

ब्युरो टोलीले मात्र २०७६ सालदेखि हालसम्ममा २३९ महिला, १९४ जना पुरुष, १२ जना बालिका र १७ जना बालक गरि ४६२ जनाको उद्धार गरिसकेको छ ।