
काठमाडौं । २०७२ सालको महाभूकम्पले भत्काएका महत्वपूर्ण सम्पदाहरुको अझैसम्म पुनर्निर्माण हुन सकेको छैन् । पुनर्निर्माण भइरहेका कतिपय सम्पदामा ठेकेदारको कमिसनको चक्कर, सरकार र दातृराष्ट्रले चासो दिन नसक्दा लथालिङ्ग अवस्थामा छन् । जसको ज्वलन्त उदारहण हो, जनबहालको सेतो मच्छिन्दनाथको मन्दिर ।
करुणाको प्रतिक करुणामय अर्थात सेतो मच्छिन्द्रनाथ । महायानी तथा वज्रयानी बौद्ध, शैव, नाथ, बैष्णव र शाक्त धर्म लगायत सबैको आस्था र विश्वासको केन्द्र रहेको सेतो मच्छिन्द्रनाथ धार्मिक सहिष्णुताको प्रतिक पनि हो । आर्यावलोकितेश्वर, श्री सिंहनाथ र श्री हरी हरहरहर को रुपमा पुजिने मच्छिन्द्रनाथ भारत, तिब्बत चीन, मंगोलिया लगायतका देशहरुमा समेत पुज्ने गरिन्छ । काठमाडौको जनबहालमा रहेको यही सेतो मच्छिन्द्रनाथको मन्दिर अहिले लथालिङ्ग अवस्थामा छ ।
महाभूकम्पछि समयमै पुनर्निर्माण हुन नसक्दा मन्दिर खण्डहर बनेको छ । मन्दिरभित्रका पुरातात्विक र ऐतिहासिक महत्वका सामाग्री बेवारिस बनेका छन् । भारत सरकारको ६ करोडभन्दा बढी आर्थिक सहयोगमा शुरु गरिएको रेक्ट्रोफिटिगं र संरक्षणकार्य समयमा सम्पन्न हुन नसक्दा मन्दिर यस्तो अवस्थामा पुगेको हो । इण्डीयन नेशनल टष्ट्र फर आर्ट एण्ड कल्चर हेरिटेज परार्मशदाता रहेको रेट्रोफिटिङ कार्य २०७९ फागुनमै सकिनु पर्नेमा म्याद थप भएको पनि एक वर्ष नाघिसकेको छ । मन्दिरका पुजारी नीलकाजी शाक्य ठेकेदारको लापरवाहीका कारण यो अवस्था भएको र लथालिङ्ग अवस्थाप्रति नेपाल सरकार र दाता राष्ट्र भारतले समेत चासो नदिएको बताउनुहुन्छ ।
मन्दिरको पुनर्निर्माणमा ढिलाई हँुदा नित्य पुजापाठमा समेत असर पुगेको र वास्तु सिद्धान्त विपरित मच्छिन्द्रनाथको मूर्तिलाई वर्षो देखि मन्दिर बाहिर पश्चिम फर्काएर राख्नु परेको छ । मन्दिर पुनर्निर्माणको अनुगमन गर्न पुगेका काठमाडौं क्षेत्र नम्बर ७ का सांसद गणेश पराजुलीले यस विषयलाई आफुले गम्भीर रुपमा लिएको बताउनुभयो ।
मन्छिन्द्रनाथको यो मन्दिरको संरक्षणमा भारत सरकार समेत जोडिएकाले समयमै पुनर्निर्माण नहुँदा भारतप्रतिको नेपाली दृष्टीकोणमा पनि नकारात्मक प्रभाव नपर्ला भन्न सकिँंदैन । कमिसनको चक्करमा सम्पदालाई अलपत्र पार्ने र मित्रराष्ट्रसंगको सम्बन्धमै आँच पु¥याउने ठेकेदारलगायतमाथि तत्काल कारबाही गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्