१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यात्रुमैत्री विशेष अभियानमा उपत्यका ट्राफिक प्रहरी


715
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले यात्रुमैत्री विशेष अभियान थालनी गरेको छ । यात्रुहरू बिना झन्झट, नठगिई सुरक्षित रुपमा गन्तव्यमा पुग्ने अवस्थाको ग्यारेन्टी गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयले १५ दिने यात्रुमैत्री अभियान शुरु गरेको हो ।

यात्रुबाहक सार्वजनिक सवारी साधनमा भाडादर राखेको छ वा छैन ? ज्येष्ठ नागरिक, महिला तथा अपांगता भएका व्यक्तिहरूका लागि आरक्षित सिटको पालना भएको छ, छैन ? लगायतका पक्षको अनुगमन गर्ने तथा यात्रुलाई पर्ने अन्य समस्याको समाधान समेत गर्ने भन्दै ट्राफिक प्रहरी कार्यालयले अभियान शुरु गरेको हो । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता जीवन कुमार श्रेष्ठका अनुसार लक्षित वर्गप्रति हुने दुव्र्यवहार, बढी भाडा लिएर गर्ने ठगी, भनेको स्थानमा जान नमान्ने ट्याक्सी र अनधिकृत राइड सेयरिङलगायतका विषयको अनुमगन गरिने छ ।

गत फागुन ३० गतेदेखि सुरु भएको पहिलो चरणको अभियान १४ गतेसम्म सञ्चालन हुने छ । जसमा प्रहरी निरीक्षकको नेतृत्वमा ४० जना प्रहरी तथा सादा पोशाकका प्रहरी कर्मचारी खटिएको र आवश्यकता अनुसार स्थानीय प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयबाट थप जनशक्ति परिचालन गर्ने गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

पहिलो दिनको अनुगमनमा भाडादर नराख्ने दुई सय १७, आरक्षण सिट कार्यान्वयन नगर्ने ३५, यात्रु लिन इन्कार गर्ने ४३, लापरवाही तरिकाले चलाउने तथा यात्रुलाई सताउने छ वटा र बढी भाडा लिने दुई गरी जम्मा तीन सय तीन वटा सवारी चालकलाई कारबाही गरिएको पनि ट्राफिक प्रहरीले जनाएको छ ।

सवारी चालकहरु पनि ट्राफिक प्रहरीको अभियानमा आफुहरुले सक्दो सहयोग गर्दै आएको बताएका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रा गर्ने क्रममा कुनै समस्या परेमा वा यात्राका क्रममा दुव्र्यवहार भएमा नजिकको ट्राफिक प्रहरी कार्यालय वा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा खबर गर्न पनि सर्वसाधारणलाई अनुरोध गरेको छ । ट्राफिक प्रहरीको यो अभियानमा सम्पुर्ण यात्रु र सार्वजनीक यातायातका चालक सहचालकहरुलाई पनि सहयोगका लागि प्रवक्ता श्रेष्ठले अनुरोध गर्नुभयो । यो अभियानबाट सडक यात्रालाई सुरक्षित र सम्मानयुक्त बनाउन मद्धत पुग्ने विश्वास पनि ट्राफिक प्रहरीको छ ।