२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


जाजरकोटका भूकम्प पीडितको अस्थायी आवास निर्माणमा रेडक्रसबाट चार करोड बढी सहयोग


117
Shares

अर्घाखाँची । जाजरकोट भूकम्पपछि नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमले जिल्लाका दुई वटा पालिकामा चार करोड बढी सहयोग गरेको छ । स्थानीय सरकारबाट लाभग्राही कायम भएका प्रभावितलाई नगदसहित अस्थायी आवास निर्माणका लागि सो रकम सहयोग गरेको दाबी गरिएको छ ।

भूकम्प प्रभावित सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकाका २ सय ५० लाभग्राहीले रेडक्रसको अनुदान रकमबाट अस्थायी आवास निर्माण गरेका छन् । सानीभेरीमा १ सय ५० र त्रिवेणीमा १ सय प्रभावित घरपरिवारका अस्थायी टहरा निर्माणमा २ करोड १७ लाख ५० हजार रकम खर्च गरेको दाबी रेडक्रसको छ । कर्णाली भूकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत सानीभेरीको वडा नम्बर ४ र त्रिवेणी गाउँपालिकाका वडा नम्बर ९ र १० का लाभग्राहीले अस्थायी आवास निर्माण गरेका हुन । अस्थायी आवास बनाएकी सानीभेरी गाउँपालिका वडा नम्बर ४ कि उर्मिला केसीले रेडक्रसको अनुदानले ठूलो सहयोग पुगेको बताउनुभयो ।

प्रतिपरिवार ८७ हजारका दरले प्रदान गरिएको अनुदानबाट अस्थायी आवास, शौचालय र खानेपानी ट्यांकी निर्माण गरिएको छ । यसका लागि रेडक्रसले प्रभावित लाभग्राहीलाई पहिलो र दोस्रो किस्ताको अनुदान रकम भुक्तानी गरिदिएको हो । रेडक्रसको सहयोगले अस्थायी आवास बन्दा ढुक्ककासाथ बास बस्न पाएको सानीभेरीका कोमबहादुर खत्री बताउनुहुन्छ ।

रेडक्रसले भूकम्प प्रभावित एक हजार ४ सय ४२ घरपरिवारलाई १५ हजारका दरले बहुउद्देश्यीय नगद रकम समेत प्रदान गरेको छ । रेडक्रसका कार्यक्रम संयोजक सरोज थापाले अस्थायी आवास र बहुउद्देश्यीय रकम गरेर ४ करोड ३३ लाख ६० हजार रकम खर्च गरिएको दाबी गर्नुभयो ।

यस्तै १ हजार ४ सय ४२ प्रभावित परिवारका लागि २ करोड १६ लाख ३० हजार बहुउद्देश्यीय नगद रकम वितरण गरेको दाबी गरिएको छ । बहुद्देश्यीय सहयोग रकम जेष्ठ नागरिक, दीर्घरोगी, एकल महिला, सुत्केरी, गर्भवती र अपाङ्गता भएका घरपरिवार छनोट गरेर पठाइएको बताएको छ ।