१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्न ढिलाइ


455
Shares

काठमाडौं । सवारी साधनहरुको अनलाइन अनुगमन गरी आपराधिक कृयाकलाप रोक्ने उद्देश्यले लागू गरिएको सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट जडानमा ढिलाइ भएको छ । पाँच वर्षमा सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने भन्दै शुरु गरिएको कार्यक्रम नौ वर्ष पुरा हुँदा ३ प्रतिशत सवारीमा मात्रै नयाँ नम्बर प्लेट जडान भएको छ ।

कहिले नम्बर प्लेटमा देवनागरीको सट्टा अंग्रेजी लिपी प्रयोगको विवादमा सर्वोच्च अदालतमा परेको रिट त कहिले कोरोनाका संक्रमणका कारण पाँच वर्षमा सम्पन्न हुनुपर्ने इम्बोस्ड नम्बर प्लेट जडान कार्यक्रम नौ वर्ष पुग्दा पनि तीन प्रतिशत मात्रै काम भएको छ । २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नेगरी सम्झौता भएकोमा अहिलेसम्म मात्रै ६० हजार सवारीसाधनमा नयाँ नम्बरप्लेट जडान गरिएको छ । २०७३ सालमा ०७८ सालसम्म सम्पन्न गर्ने गरी शुरुमा ३ प्रदेशमा मात्र लागु गरिएको यो कार्यक्रम अहिले सात वटै प्रदेशमा लागू भएको छ । तर काम भने कछुवाको चालमा सिमित छ ।

नयाँ नम्बरप्लेट जडानमा भएको ढिलाइले यो आयोजनाको व्ययभार करिव एक अर्वले बढ्ने भएको छ । भर्खर ३ प्रतिशत सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट जडान हुँदै गर्दा यो आयोजनामा पनि भ्रष्टाचार भएको चर्चा चुलिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नम्बरप्लेट जडान कार्यक्रममा भएको अनियमितताबाबारे छानविन गरिरहेको बुझिएको छ । तर नेपाल यातायात व्यवस्था विभागका प्रवक्ता भने भ्रष्टाचारको विषयलाई अनावश्यक हल्ला भन्दै २०८२ मंसिरभित्र इम्बोस्ड नम्बरप्लेट जडान सम्पन्न हुने दाबी गर्नुहुन्छ ।

इम्बोस्ड नम्बरप्लेट जडान भएका सवारी साधनको अनुगमनका लागि १० बटा आरएफआइडी गेटवे बनाएर सय थान रिडर राख्ने सम्झौता भए पनि अहिलेसम्म २ वटा मात्र गेट सपन्न भई परिक्षण भइरहेको छ ।

एकातर्फ नम्बरप्लेटमा नेपाली लिपीसहितको मौलिकता नामेट गर्ने र अर्कोतर्फ इम्बोस्ड नम्बरप्लेट जडान औसतभन्दा निकै महंगो भएकाले पनि सवारी धनीहरु अहिले पनि नयाँ नम्बरप्लेट जडान गर्नबाट पन्छिंदै आएका छन् ।