
काठमाडौं । सरकारले काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रलाई २४सै घण्टा खुला गर्ने तयारी थालेपछि यहाँका बासिन्दाले असन्तुष्टि जनाएका छन् । ठमेल पर्यटकीय मात्रै नभइ आवासीय क्षेत्र समेत भएकाले स्थानीयको शान्तिपूर्वक बस्न पाउने अधिकारको हनन् हुने भन्दै उनीहरु विरोधमा उत्रिएका छन् ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा खुला गर्ने तयारी गरेको छ । जिल्ला प्रशासनले सुरक्षा निकायहरु तथा व्यापारीहरुसँग छलफल अघि बढाउँदै २४सै घण्टा खुला गर्ने तयारी गरेपछि विरोधमा उत्रिनु परेको ठमेलका स्थानीय बताउँछन् । ठमेलका घरधनीहरुको बैठकले ठमेललाई २४सै घण्टा खुलाउने निर्णयको विरोधमा जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायहरुमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको काठमाडौं महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले बताउनुभयो ।
स्थानीयले २४सै घण्टा खुला गर्दा आफूहरु शान्तिपूर्वक सुत्नसमेत नपाउने भन्दै विरोध गरेका हुन् । स्थानीय मात्रै होइन जनप्रतिनिधिहरुले ठमेल क्षेत्रलाई २४सै घण्टा खुला गर्नुअघि त्यसले पार्ने सकारात्मक र नकारात्मक पक्षबारे व्यापक छलफल हुनुपर्ने बताएका छन् । रातभर खुला रहने क्षेत्र निर्धारण हुनुपर्ने र खुला गर्दा स्थानीयको हक अधिकार तथा शान्ति सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने वडाध्यक्ष तिवारीको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने २४ घण्टे खुलाका लागि व्यवसायी, उपभोक्ता र श्रमिकले पालना गर्नुपर्ने आचारसंहिता तयार गरेको छ । यस्तै, रात्रिकालीन समयमा मनोरञ्जनात्मक व्यवसाय गर्ने व्यवसायीले पालना गर्नुपर्ने आचारसंहिता पनि तयार गरेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताउनुभयो । प्रजिअ बस्नेतले यस विषयमा स्थानीयहरुसँग पनि छलफल गरेको दाबी गर्नुभयो ।
यसअघि पनि ठमेल क्षेत्रलाई २४ घण्टा खुला गर्ने घोषणा पटक पटक हँुदै आएको हो तर ती प्रयासहरु सफल हुन सकेनन् । यसपटक पनि २४ घण्टे खुला कार्यक्रमबाट प्रत्यक्ष प्रभावित हुने स्थानीयको अनुमति लिने र उनीहरुलाई विश्वासमा लिएर काम गर्न प्रशासन चुकेको देखिन्छ । स्थानीयको सहमति बिना २४ घण्टे खुला कार्यक्रम लागू गरियो भने त्यो असफल हुने निश्चित छ । स्थानीयको मागलाई मध्यनजर गर्दै सरकारले ठमेल र दरवारमार्गलाई २४ अै घण्टा खुल्ला राख्न पूर्ण रुपमा सुरक्षाको प्रत्याभुति दिलाउने गरि सुरक्षाको व्यवस्था मिलाउने जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्