
काठमाडौं । आपराधिक गतिविधि नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो रहेतापनि २०८० सालमा पनि आपराधिक कृयाकलापमा खासै कमी आएन । कतै हत्याकाण्ड त कतै मानव तस्करी जस्ता घटना यो वर्ष पनि प्रशस्तै भए ।
यो वर्ष निकै नै चर्चामा रहेको एउटा विषय हो । रामबहादुर बम्जनको गिरफ्तारी । हत्या र अनुयायीहरुमाथि बलात्कार र बेपत्ता पारेको आरोप लागेपछि प्रहरीको आँखा छली लुकिछिपी बसेका बमजन यो वर्षको पुस २४ गते बुढानिलकण्ठबाट पक्राउ परे । आलिसान बंगला अनि बिलासी जीवन व्यतित गरिरहेका उनी आफुलाई लिटिल बुद्धको उपमा दिने गर्दथे ।
वर्ष २०८० मा देशमै सनसनी मच्चाउने गरी फागुन १४ गते काठमाडौंको नागर्जुन नगरपालिकाको सीतापाइलाको भैरवटोलमा हत्याकाण्ड भयो । राजु घिमिरे भन्ने काजी विश्वकर्माले आफनै श्रीमती, छोरी र नातिनीको हत्या गरी आत्महत्या गरेको घटना निकै कहालीलाग्दो बन्न पुग्यो ।
अर्को घटना हो भिजिट भिसा प्रकरण । नेपालमा मौलाएको बेराजगारीको फाइदा उठाउँदै केही बिचोलियाहरुले नक्कली कागजात बनाएर भिजिट भिसामा मानव तस्करी गर्ने क्रम यो वर्ष अझै मौलायो । सो प्रकरणमा अध्यागमन विभागका अधिकृत, वायु सेवा निगमका कर्मचारी, प्रहरी, नेपाल एअर लाइन्सका कर्मचारी र ट्राभल्स एजेन्सीका कर्मचारी गरी ३५ जना समेत तानिए ।
२०८० माघ १० मा काठमाडौंको शोभा भगवतीमा एक महिलाको हत्या भयो । सो हत्याकाण्डमा फरार ब्यक्ति भारतबाट पक्राउ गर्न प्रहरी सफल भयो । यही वर्षको माघ २७ गते ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल, ओचु हाइटमा एक महिलाले छोराछोरीको हत्यावछि आत्महत्या गरेको खुलासा भयो । रविना महर्जन नामकी महिलाले आफनो ६ वर्षको छोरा र २ वर्षकी छोरीको हत्यापछि तीन तले घरबाट हामफालेर आत्महत्या गरेक िथिइन् ।
यही वर्षको चैत ४ गते युवतीको हत्या गरी शिवपुरी जंगलमा शव गाड्ने युवक पक्राउ परे । काठमाडौंको गोकर्णेश्वरस्थित तारेभिरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा माघ २२ गते तारेभिरकी १८ वर्षीया सुस्मा लामा बेपत्ता भएकोमा गत फागुन २४ गते साँझ उनको शव शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा गाडेको अवस्थामा फेला परेकोमा हत्यामा संलग्न सोही ठाउँका २१ वर्षिय रुपेन्द्र लामालाई पक्राउ गर्न प्रहरी सफल भए ।
युरोप पठाउने प्रलोभनमा ७ जना भारतीय नागरिकहरुलाई नेपाल ल्याई बन्धक बनाएकोमा उनीहरुलाई अपहरण मुक्त गर्न प्रहरी सफल भयो । राजधानीको रातोपुलको एक घरमा ६ दिन सम्म बन्धकमा परेका भारतीय नागरिकहरुले प्रहरीले कब्जा मुक्त गर्दा अपहरणमा संलग्न ११ जना भारतीय नागरिकहरुलाई प्रहरीले पक्राउ गर्यो । पक्राउ परेकाहरु कारागार चलान हुँदा अपहरणमा परेकाहरुलाई स्वदेश फर्काइयो ।
यही वर्षका चैत्र ११ गतेको होली पर्वमा दुई युवा समुहबीच भएको झगडामा २ युवाको ज्यान गयो । फागू पूर्णिमाको राती ढोलाहिटीस्थित मादक पदार्थ सेवन गरी बसेका दुई समूहबीच विवाद बढ्दा रोवस राई र पुजन राईकोे हत्या भयो । घटनामा संलग्न ४ जना प्रहरी नियन्त्रणमा छ ।
प्रतिक्रिया दिनुहोस्