
काठमाडौं । मावन जीवन माया, ममता, भावना र प्रेम विना सम्भव छैन् । अझ मानव र पंक्षीबीच पनि यस्तो सम्बन्ध स्थापित हुँदा जीवन रमाइलो र सार्थक हुने गर्दछ । सानो चरा र मानव बीचको माया, ममताले जीवनलाई आध्यात्मिक बनाउन पनि मद्धत गरेको हुन्छ । त्यसैले त शताब्दी पुरुष स्व. सत्यमोहन जोशीले जुरेली चरालाई गुरु नै मान्ने गर्नुभएको थियो ।
सानो चरा जुरेलीको सुरीलो स्वर र नाचले सबैलाई मन्त्रमुग्ध पार्ने गर्दछ । काठमाडौं कुलेश्वर निवासी रविदास श्रेष्ठको परिवारमा यो चराले खुशियाली पनि ल्याएको छ । छिमेकी दाई मार्फत एक महिना अघि घाइते जुरेलीलाई रवीदासले घरमा ल्याउनु भएको थियो । तर छोटो समयमै जुरेली परिवारको सदस्य जस्तै बनेको छ । श्रेष्ठ दम्पतिले छोरी सरह जुरेलीको संरक्षण गरेर स्यहार सुसार गर्दे आएका छन् । जुरेलीले पनि विहान सबेरै परिवारका सदस्यलाई उठाउने र सँगसँगै खेलेर रमाइलो गर्ने गर्दछ । रविदासले प्राणायाम गर्दा सँगै बस्ने, आफैले पनि प्रणायाम गरेजस्तो गर्ने जुरेलीले टेलिभिजनमा आउने योग पनि चाख मानेर हेर्न गर्छ । जुरेलीलाई मिन्टु मैचा नाम दिइएको छ ।
जुरेली भाषा छिटो बुझ्ने चरा भएकोले पनि होला आनी बानी र बानी बेहोरा सबै थाहा छ यसलाई । त्यसैले परिवारको सदस्य जस्तौ धुलमिल गरेर बसेको छ । नुहाउने भनेपछि मिन्टु मैचा हुरुकै हुने रहेछ । पानी देख्ने वितिकै रमाई रमाई नुहाउने गर्दछ ।
मोबाईलमा खेल्नु र कसैले फोटो खिच्न लाग्यो भने पनि अगाडि आएर नाच्ने गजबको सौख रहेको छ मिन्टुको । विन्द्रा श्रेष्ठ अब त मिन्टु विना बाँच्न पनि सकिंदैन कि जस्तो गरी माया गाढा भएको बताउनुहुन्छ ।
अव्यवस्थित शहरीकरणका कारण यस्ता चराहरु कम देखिन थालेको छ काठमाडौंमा । जुरेली र धोबि चरा पाल्ने चलन त काठमाडौबाट लोप नै भइसकेको छ । यस्ता चराहरुलाई बचाउने हो भने रुखहरुमा झिलिमिल बत्ति बाल्न रोक्नु पर्ने र घरहरुमा पनि चरा बस्ने प्वाल बनाउनु पर्ने रविदासको सुझाव छ । अझै पनि प्रकृतिमैत्री विकासको नीति अवलम्वन गर्ने हो भने यस्ता चराचुरुङ्गीसंग रमाउने अवसर मिल्थ्यो कि !
प्रतिक्रिया दिनुहोस्