
काठमाडौं । विभिन्न प्रलोभन दिएर दलालहरुले अमेरिका, युरोपलगायतका आकर्षक गन्तव्य मुलुक पठाउने भन्दै देशभरका युवायुवतीलाई ठगी गर्ने गर्ने क्रम झन् बढेको छ । वैदेशिक रोजगार विभाग र नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान महाशाखामा परेको उजुरीबाट ठगी गर्ने प्रवृत्ति झन मौलाएको देखिन्छ ।
वैदेशिक रोजगारीको नाममा मेनपावर एजेन्सी र व्यक्तिगत दलालहरुले ठगी गर्नु नौलो होइन् । तर पछिल्लो समय त कन्सल्टेन्सिको नाममा समेत यस्तो ठगी बढेको प्रहरीको अध्ययनले देखाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता अंगुर जिसीका अनुसार शैक्षिक कल्सल्टेन्सीहरु समेत यस्तो ठगीमा सक्रिय देखिएका छन् ।
गत साउनदेखि जेठसम्ममा आकर्षक गन्तव्य मुलुकमा पठाईदिने भन्दै ६२ करोड ५८ लाख ४ हजार ७ सय ६४ रुपैयाँ ठगी भएको उजुरी परेको छ । वैदेशिक रोजगार विभागले विगत १० महिनामा ३ सय ३९ जनालाई ठगीको आरोपमा पक्राउ गरेको जनाइएको छ भने विभागमा मात्रै ठगीका ८ सय २३ उजुरी परेका छन् । विभागमा परेका उजुरी हेर्दा गत साउनमा ८९, भदौमा ४६, असोजमा २२, कार्तिकमा २६, मंसिरमा ६०, पुसमा ९४, माघमा ८४, फागुनमा १२७, चैतमा १२६, वैशाखमा १०६ र जेठमा ४३ वटा ठगीमा मुद्दा परेका थिए । सामाजिक सन्जालको दुरुपयोग गरि बैदेशिक रोजगारको खोजिमा रहेका युवालाइ फसाएर ठग्ने काम भैरहेको विभागका प्रबक्ता गुरुदत्त सुवेदी बताउनुभयो ।
प्रहरीले दिएको जानकारी अनुसार अहिलेसम्म विभाग र महाशाखामा परेका उजुरीको आधारमा २ हजार ६ सयभन्दा बढी व्यक्ति पीडित बनेको देखिन्छ । प्रहरीले अहिलेसम्म ६ करोड १५ लाख ४७ हजार ८ सय ५० रुपियाँ बिगो असुल गर्न सफल भएको छ भने ४ सय ३७ जनामाथि ठगीको आरोपमा अनुसन्धान अघि बढाएको छ ।
अपराध अनुसन्धान महाशाखामा साउनदेखि जेठसम्म ४ सय ७४ वटा उजुरी परेका छन् भने प्रहरीले अहिले ८९ जनालाई पक्राउ गरी उनीहरूबाट पीडित भएकाहरूलाई बिगो फिर्ता गराउन सफल भएको छ । दलाललहरूले आकर्षक गन्तव्य मुलुक पठाइदिने भन्दै एकै व्यक्तिसँग ८० लाख रुपैयाँसम्म लिएको पाइएको छ । अमेरिका र युरोप जानका लागि नेपालीहरू जति पनि पैसा तिर्न तयार भएपछि दलालहरूले अनेक बहाना खडा गरेर ठगीको जाल विच्छ्याउने प्रवक्ता जिसी बताउनुभयो ।
पछिल्लो समय विश्वव्यापी रुपमा बढेको मानव तस्करी नियन्त्रण गर्नका लागि प्रशासनको एक्लो प्रयासले मात्रै सम्भव हुँदैन । व्यक्ति स्वयं नै सचेत नभएसम्म ठगी नियन्त्रण गर्न मुश्किल हुने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्