
काठमाडौं । उच्च तापक्रम वृद्धिसँगै भारतमा खानेपानीको हाहाकार हुँदा लाखौं जनता प्रभावित बनेका छन् । भारतका विभिन्न स्थानमा पानीका लागि बालबालिकादेखि वृद्धवृद्धासम्म दिनरात धाउने गरेका छन् । राजधानी नयाँ दिल्लीमै पनि पानीको अभाव चर्किंदा दिल्ली सरकारका जलस्रोत मन्त्री नै अनसनमा बस्नु परेको छ ।
उच्च तापमानका कारण पानीको मुहान सुक्दा भारतमा झण्डै आधा जनसंख्या पानीको अभाव खेप्न बाध्य छन् । जलवायु परिवर्तनका असरले तापमान ५० डिग्री माथि पुग्दा बर्षाैंदेखिका पानीका मुहानहरु सुक्दा खानेपानीको अभाव चर्किएको हो । राजस्थान, त्रिपुरा, झारखण्ड, उडिसा, महाराष्ट्र, आन्ध्रप्रदेश, तेलगंना, केरला, कर्नाटक, तमिलनाडु, गुजरात र महाराष्ट्रमा पानीका जलाशयमा क्षमताको २० प्रतिशतभन्दा कम पानी उपब्ध हुँदा पानी अभाव बढेको हो ।
भारतको केन्द्र सरकार र राज्य सरकारहरुले जसोतसो पानी बितरण गर्ने प्रयास गरे पनि पानीको स्रोत नै पर्याप्त नहुँदा ती राज्यहरुमा सर्वसाधारणले ठूलो सास्ती खेप्नु परेको छ । पानीका मुहान र इनार सुक्दा महिलाहरु जोखिम मोलेर पानीका लागि कोषौं पर जान बाध्य भएका छन् ।
भारतको निती आयोगले सन् २०३० सम्ममा देशका ४० प्रतिशत जनताले पानीको अभाव भोग्नुपर्ने तथ्यांक सार्वजनिक गर्दा सर्वसाधारण भारतीयहरु आतंकित नै बनेका छन् । भारत सरकारले भने पानीको अनावश्यक प्रयोग रोक्न सबैमा अपील जारी गदै पानी आपुर्तीका लागि सबै संयन्त्र परिचालन गरिएकाले त्रसित नहुन अपिल जारी गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशभरका २ लाख ४० हजार पञ्चायत प्रमुखहरूलाई पत्रमार्फत सम्बोधन गर्दै जनतालाई धैर्य धारण गर्न अपील गर्नुभएको छ । त्यतिमात्र कहाँ हो र ? राजधानी नयाँ दिल्लीकी जलस्रोतमन्त्री पानीको अभावकाबीच हरियाणा सरकारले पानी नदिएको भन्दै अन्सनमा बस्दा अस्वस्थ बन्न पुगेकी छन् । पानी संकटमा ध्यान नदिने हो भने सन् २०५० सम्म कुल गार्हस्थ उत्पादनमा ६ प्रतिशतको क्षति हुने नीति आयोगको प्रतिवेदनले चेतावनी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्