१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ललितपुरको ‘न्हू पुखू’ पोखरीभित्रै मकैबारी


923
Shares

काठमाडौं । पोखरी मानव सभ्यताको अभिन्न अंग हो । पर्यावरणीय सन्तुलनका लागि पनि मानव निर्मित र प्राकृतिक पोखरीहरुको उल्लेख्य महत्व रहेको छ । यस्ता पोखरीहरु भूमिगत पानी प्रणालीको मुख्य स्रोत पनि हुन् । तर उचित संरक्षणको अभावमा पोखरीहरु मासिने डर पनि छ ।

ऐतिहासिक पोखरी ललितपुरको न्हू पुखू । जसलाई पाटनको रानीपोखरी मानिन्छ । वडा नं ५ लगनखेलमा रहेको पोखरी अहिले मकैबारी बनेको छ । साथै कुखुरा चर्ने चरण थलो समेत बनेको छ । करिब १७ रोपनी क्षेत्रफलमा रहेको पोखरी विभिन्न काल खण्डमा अतिक्रमणमा परेर साँगुरीएको हो । पोखरीको बिचमा रहेको नागको मूर्ति समेत ठुटोमा परिणत भएको छ ।

कुनैबेला पोखरी मासेर पाकिगं बनाउने योजना समेत बनेको थियो । स्थानीयको दवावका कारण पोखरी सुरक्षित त रह्यो तर स्याहार संभार भने हुन सकेन । विगतमा राजकुलोको पानी समेत यसै पोखरीमा आउने गर्दथ्यो, तर अहिले रोकिएको छ । यो पोखरी पाटनका हिति, इनार र कुवाको पानीको भूमिगत स्रोत पनि भएको ललितपुर महानगरपालिका ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले जानकारी दिनुभयो ।

पाटन बासीलाई पानी उपलव्ध गराउन मध्यकालका पानी पुनर्भरण, प्राकृतिक विपत्ति टार्न र वातावरण सन्तुलनका लागि यो पोखरी पनि बनाइएको थियो । तर अहिले यो पोखरीको निशाना समेत मासिने खतरा बढेको छ । वडाध्यक्ष विकासमान श्रेष्ठ पोखरी पुननिमार्ण कार्य ललितपुर महानगरपालिकै सहयोगमा हुन लागेको दाबी गर्नुहुन्छ ।

पोखरी बाढी पहिरो र भुक्षय नियन्त्रणका लागि मात्र होइन पर्यावरणीय सन्तुलनसहित स्वथ्य शहरको सौन्दर्य पनि हो । त्यसैले प्रकृतिमैत्री विकासका लागि पनि यस्ता पोखरीहरुको संरक्षण गर्न अपरिहार्य छ ।