२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


वर्षाले देशभरका अधिकांश स्थानमा बाढी-पहिरो


780
Shares

काठमाडौं । निरन्तरको वर्षाको कारण देशका अधिकांश ठाउँमा बाढीपहिरोले जोखिम नित्याएको छ । ठाउँठाउँका सडक अवरुद्ध भएका छन् भने मानवीय घटनासँगै धनमालको समेत क्षति भएको छ । निकाश बिनाको विकासले जनधनको क्षति हुन पुगेको छ । केही दिनसम्म पानी निरन्तर पर्ने भएकाले नदी तथा खोला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह समेत गरिएको छ ।

निरन्तरको बर्षाले काठमाडौं उपत्यका लगायत देशैभरका नदी तथा खोलाहरुमा जलसतह बढेको कारण बाढीको जोखिम बढ्दोछ । उपत्यकाको मध्यपूर ठिमी लगायतका बाग्मती, विष्णुमती, मनोहरा खोलामा जलसतह बढ्दा किनारा बस्ती डुबानमा परेका हुन् । लगातारको वर्षाले काठमाडौंका सडकहरु जलमग्न छन् । बल्खु तरकारी बजार समेत प्रभावित बन्न पुगेको छ ।

वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन् । अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण सडकहरु अवरुद्ध भएका छन् । लगातारको बर्षाका कारण नारायणी पुल र देवघाटमा पानीको सतह बढेको छ । यता, शुक्रबारदेखि परेको वर्षाका कारण पहिरो खसेर कर्णाली राजमार्गको कालिकोट सडकखण्ड अवरुद्ध हुँदा सवारीसाधन अलपत्र छन् ।

रुकुम पूर्व र पश्चिमलाई जोड्ने राप्ती लोकमार्ग र मध्यपहाडी लोकमार्गका दर्जनौ स्थानमा पहिरोको कारण जोखिम देखिएकाले अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ । वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्गका विभिन्न ठाउँहरु अवरुद्ध छन् । निरन्तरको बर्षाको कारण सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको ठाउँ ठाउँमा पहिरो गएको छ । स्याङ्जा–वालिङ सडकको भीरकोटमा पहिरो जाँदा सडक सञ्चालनमा कठिनाइ भएको छ ।

यता सिन्धुलीमा विपी राजमार्ग अवरुद्ध छ । पहिरोसहित बगेर आएको लेदोले यातायात सेवामा समस्यामा परेको छ । मकवानपुरमा पनि अविरल बर्षाका कारण हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्ड अवरुद्ध छ । यस्तै, भीमफेदी–फाखेलतर्फको सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ । पहिरोका कारण बेसीँसहर चामे सडक अवरुद्ध भएको छ । बाढीका कारण दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत सेवारखोलामा बनाएको डाइभर्सन बगेको छ भने सो ठाउँमा आवतजावतमा समस्या भएका ेछ ।

अविरलको वर्षाले लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका मौरीघाटमा रहेका प्रदेश सरकारका मन्त्रालयहरु समेत डुबानमा परेको छ । बाढीले तराईका विभिन्न ठाउँ डुबानमा परेका छ । वीरगञ्ज पर्सा, विराटनगर, झापा लगायतका स्थानमा गए रातिदेखि लगातार परेको वर्षाले धेरै ठाउँ डुबानमा परेका छन् । यस वर्ष औसतभन्दा बढी पानी पर्ने भएकाले कोशी प्रदेश र मधेश प्रदेशका नदी तथा खोलानाला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह समेत गरिएको छ । बर्षाकै कारण मुगु हवाई सेवा अवरुद्ध भएका छन् भने देशैभरका हवाई सेवा समेत प्रभावित बन्न पुगेको छ ।