१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतका सुविधामा कटौती


4.199k
Shares

काठमाडौं । सरकारले स्वास्थ्य बिमा कार्यक्रमको सुविधा कटौती गरेको छ । ६ महिना नपुग्दै बीमा कार्यक्रम अन्तर्गतको सुविधा परिमार्जन गर्दै स्वास्थ्य बीमा बोर्डले चेक जाँचको शुल्क दश गुणा बढाउनुका साथै शैया शुल्क पनि बढाएको हो ।

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपलब्ध गराइने ‘सुविधा थैली’को सुविधा परिमार्जित गर्दै सेवाग्राहीमाथि भार थोपरेको छ । आगामी साउन १ गतेदेखि लागू गर्ने गरी परिमार्जन गरिएको सुविधा थैली अनुसार अब स्वास्थ्य बीमा गरेका सेवाग्राहीले चेक जाँचका लागि ५० रुपैयाँको टिकट काट्नु पर्ने भएको छ । ५ रुपैयाँको टिकट दर बढाएर ५० बनाइएको हो । यस्तै साधारण शैयाका लागि लिइँदै आएको २ सयलाई बढाएर २५० बनाइएको छ ।

स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी ओम कुमारी कँडेलले हेरक तीन वर्षमा सुविधा थैली परिमार्जन गर्ने नियम अनुसार महँगी दरलाई हेरेर सेवाको मूल्य बढाइएको बताउनुभयो ।

स्वास्थ्य बिमामा १० गुणा बढाएर ५० बनाइनु जनतामाथिको ज्यादती भएको सेवाग्राही बताउँछन् । सस्तोमा उपचार गर्न पाइने भन्दै स्वास्थ्य वीमा गरेका सर्वसाधारण स्वास्थ्य बिमा बोर्डको पछिल्लो परिमार्जन खारेज हुनुपर्ने माग गर्दछन् ।

स्वास्थ्य बीमा बोर्ड भने यसअघि आंशिक रुपमा परिमार्जन गरिएकोमा यस पटक सबै पक्षको अध्ययन गरेर सुविधा थैली परिमार्जन गरिएको दाबी गर्दछ । नयाँ सुविधा थैलीमा स्वास्थ्य बीमा अन्तर्गत एक हजार दुई सय ९० प्रकारका औषधि बीमा कार्डबाट प्राप्त गर्न सकिने छ ।

तर बीमा अन्तर्गत प्राप्त हुने औषधिमा पनि बदमासी गरिएको सेवाग्राहीको गुनासो रहँदै आएको छ । सस्तो खालका मात्रै बीमा कार्डबाट उपलब्ध हुने तर महँगा औषधीहरु बजारबाट किन्नुपर्ने र त्यसमाथि पनि मिलेमतोमा निश्चित फार्मेसीहरुबाट मात्रै औषधि किन्नु पर्ने अवस्था बनाएर विरामीमाथि लुट्ने गरिएको सेवाग्राहीको आरोप छ ।

वार्षिक ३५ सय रुपैयाँ तिरेर पाँच जनाको परिवारको स्वास्थ्य बीमा गरिने र त्यसबाट एक लाख रुपैयाँसम्मको उपचार खर्च ब्यहोर्ने नीति रहेको छ । पाँच जना भन्दा बढीको परिवार भए प्रति ब्यक्ति सात सय रुपैयाँ थपेर २० हजारसम्मको उपचा सुविधा लिन पाउने ब्यवस्था रहेको छ । यो कार्यक्रम अन्तर्गत कुल २३ लाख ९२ हजार छ सय ७६ परिवारका ७७ लाख ४१ हजार चार सय ८३ जना २६ समेटिएको बोेर्डले बताएको छ ।