
काठमाडौं । महायान बौद्ध परम्परामा हारती अजिमाको ठूलो महत्व छ । विभिन्न देशमा हारतीको आ-आफ्नै मौलिक परम्परा अनुसार बौद्ध धर्मको रक्षकको रुपमा पुजिंदै आएको छ । यसै सन्दर्भमा ८ किलो चाँदी बराबरको हारती अजिमाको मूर्ति मानन्धर समुदायले पलिस्था संकल्प गरेका छन् ।
नेपाल मण्डलका वासिन्दाको जनजीवनमा हारती अजिमाको निकै ठूलो प्रभाव छ । महायान र बज्रयान बौद्ध परम्परामा हारती अजिमालाई धर्मपाल र यक्षिणीको रुपमा लिने गरिएको छ । त्यसैले हरेक बौद्ध चैत्य अगाडि हारती अजिमाको मूर्ति पनि स्थापना गरिएको हुन्छ । बालबालिका संरक्षिका मानिने हारती अजिमाको पूजा पनि विशेष रुपमा हुँदै आएको छ । विगतमा पाकिस्तान, अफगानिस्तान र इरान लगागत पश्चिम एशियामा समेत हारती अजिमालाई हारितीको रुपमा पूजा गर्ने गरिएको पाइन्छ ।
अफगानिस्तानको गान्धार बौद्ध सभ्यतामा हारितीलाई इरानी महिलाको रुपमा लिने गरिन्छ । चीनमा क्वेचिमु, कोरियामा ग्वेजामोशिन, जापानमा किशिमोजिम नामबाट हारती अजिमालाई पुज्ने गरिन्छ । प्राय हारती अजिमाका मूर्तिहरु पाँच बालबालिका बोकेको देख्न सकिन्छ । स्वयम्भू महाचैत्य परिसरमा रहेका हारती मन्दिर भित्र अजिमाको मूर्तिमा छोरा धन भाजु, वासिं भाजु, जिलं भाजु तथा छोरी धन मयुजु, वासिं मय्जु रहेका छन् भने अन्य सन्तान मन्दिर अगाडी पात्रले छोपेर राखिएका छन् । मन्दिरका गुभाजु अमृत बुद्धाचार्यका अनुसार पाँच सय बालबच्चा भएकी हारती अजिमालाई वज्रपाणी र जम्भल लगायत धर्मपालको रुपमा विभिन्न देशमा पुज्ने गरिएको छ ।
यही बौद्ध परम्परालाई चिरस्थायी बनाउन कन्या खुवाउने निजी गुथीले हारती अजिमाको ८ किलो बराबरको चाँदीको प्रतिमूर्ति निर्माण गरेको छ । आप्mना पुर्खाले हारती मन्दिर भित्र चाँदीबाटै साजसज्जा गरेको जानकारी दिंदै गुथीका सदस्य रघुवरभक्त मानन्धरले अहिले चाँदीको प्रतिमूर्ति स्थापना गरेको बताउनुभयो । प्रतिमूर्तिमा प्राणप्रतिष्ठा गरिसकिएको छ भने हरेक वर्ष माघमा एक दिन मूल मूर्तिको अगाडि प्रतिमूर्ति प्रतिस्थापन गरेर सर्वसाधारणलाई दर्शन गराइने भएको छ ।
बालबच्चाको संरक्षिका हारती माँलाई बच्चाहरुको स्वास्थ्य र बुद्धधर्मको रक्षाका लागि आराधना हुने गरेको बुद्धाचार्यको बताउनु हुन्छ । विभिन्न देशमा हारतीलाई पुज्ने भिन्दा भिन्नै परम्परा र संस्कार रहको छ । पुर्खाले थालनी गरेको बौद्ध परम्परालाई निरन्तरता दिन र भावी पुस्तालाई संस्कार हस्तान्तरण गर्न यस्तो सुकार्य आवश्यक रहेको मानन्धरको भनाई छ । गुथीको यो कार्य सरहानिय छ । यसरी नै आफनो मौलिक परम्परालाई जर्गेना गर्ने हो भने वर्तमान पुस्ताले गम्भिर भएर निरन्तरतालाई कायम राखेर संरक्षण गर्नु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्