
काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ सडकमा फुटपाथ विस्तारको काम पुनः सुरु गरेको छ । पाटन उच्च अदालतले गत सोमबार फुटपाथ विस्तारमा अवरोध नगर्न सरोकारवालाहरुलाई आदेश दिएपछि महानगरपालिकाले बुधबार बिहानैदेखि धमाधम काम सुरु गरेको हो ।
गत जेठमा महानगरपालिकाले नयाँ सडकको जुद्ध शालिकदेखि ईन्द्रचोकतर्फको सडकपेटी विस्तारका लागि सडक काट्न थालेपछि सडक विभागले कार्यक्षेत्रको विवाद झिक्दै महानगरपालिकालाई काम गर्नबाट रोकेको मात्रै थिएन । सडक विभागले एकाएक काटिएको सडक पिच समेत गरेको थियो । सडक विभागको उक्त कदमको विरुद्ध महानगरपालिका अदालत गएकोमा पाटन उच्च अदालतका न्यायाधीशद्वय ध्रुबराज चन्द र प्रकाश खरेलेको ईजलाशले फुटपाथ विस्तारको काम जायज ठह¥याउँदै काममा बाधा नदिन आदेश दिएको थियो । महानगरपालिको फुटपाथ विस्तारको काम पुनः सुरु गरेकोमा स्थानीय पनि उत्साहित देखिएका छन् ।
अदालतको आदेशसंगै भौतिक पुर्वाधार मन्त्रालय अन्तर्गतको सडक विभाग र महानगरपालिका बीचको कार्यक्षेत्रको विवाद अन्त्य भएकाले फुटपाथ विस्तारको काम पुनः अघि बढाइएको महानगरपालिकाका प्रवक्ता नवी मानन्धर बताउनु हुन्छ ।
नयाँ सडक क्षेत्रलाई पैदल यात्रुमैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण व्यावसायी छनोट गरेर गत जेठ ११ गतेदेखि काम थालेको थियो । महानगरपालिकाले बुधबारदेखि सडक काट्ने र संगसंगै नाला समेत निर्माण गरी काम सक्दै जाने नीति लिएको छ । नयाँ सडक क्षेत्रका सवै सडक पेटीहरु फराकिलो बनाउने महानगरपालिकाको योजना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्