१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


यस्तो छ नेपालमा विमान दुर्घटनाको इतिहास


3.029k
Shares

काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा बुधबार सौर्य एअरलाइन्सको विमान दुर्घटना भयो । विगत १९ महिनामा नेपालको आन्तरिक उडानमा भएको यो तेस्रो दुर्घटना हो । २०७९ सालको माघ १ गते पोखरामा यति एअरलाइन्सको एटीआर विमान र २०८० सालको जेठमा पोखराबाट जोमसो जाँदै गरेको विमान म्याग्दी र मुस्ताङको सिमानामा दुर्घटना भएको थियो । सौर्यको विमान दुर्घटनासँगै ७० वर्षमा नेपालमा नेपाली आकाशमा १५१औं दुर्घटना हो ।

नेपालमा विमान दुर्घटनाको इतिहास पल्टाउने हो पहिलो पटक २०१२ साल वैशाखमा पहिलो पटक सिमरामा भारतको कलिंगा एयर दुर्घटना भएको थियो । अन्तर्राष्ट्रिय उडानको कालिंगा एयरको भीटी–एजेटएक्स डीसी–३ जहाज बाराको सिमरामा दुर्घटना भएको थियो । यो नै नेपाली भूमिमा भएको पहिलो जहाज दुर्घटना थियो । त्यो दुर्घटनामा दुई जनाले ज्यान गुमाएका थिए भने एक जना घाइते भएका थिए । नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार बुधबार सौर्य एअरलाइन्सको विमान दुर्घटना भएसँगै नेपालमा भएको यो १५१ औं दुर्घटना हो ।

हालसम्म भएका दुर्घटनामा एक इन्जिनयुक्त, आठ वटा दुर्घटना भएको तथ्यांक छ । हेलिकप्टरतर्फ ३६ र विदेशी एअरलाइन्सतर्फ १० वटा विमान दुर्घटना भएका छन् । सौर्य एअरलाइन्सको दुर्घटना समेत जोड्दा हवाई दुर्घटनामा ९ सय ३९ को मृत्यु भइसकेको छ । २०७९ साल जेठमा जोमसोमका लागि १९ जना यात्रु बोकेर पोखराबाट उडेको तारा एयरको ट्विनअटर विमान दुर्घटनाग्रस्त हुँदा सबैको मृत्यु भएको थियो ।

आन्तरिकतर्फ ४७ वटा जहाज दुर्घटना भएका छन् । यसबाहेक ३१ वटा हेलिकोप्टर र सात वटा अन्तर्राष्ट्रिय उडानका जहाज दुर्घटना भएको रेकर्ड छ । नेपाली आकाशमा भएको सबैभन्दा ठूलो जहाज दुर्घटना सन् १९९२ मा ललितपुरकोे भट्टेडाँडामा पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए)को जहाज दुर्घटना हो । त्यो जहाज दुर्घटनामा १५७ जना यात्रुले ज्यान गुमाएका थिए । त्यही वर्ष नुवाकोटको घ्याङफेदीका भएको थाई एयरवेजको जहाज दुर्घटनामा ११३ जनाको मृत्यु भएको थियो ।

आन्तरिक उडानतर्फ सन् २००० मा डडेल्धुरामा भएको नेपाल एयरलाईन्सको डीएचसी जहाज दुर्घटनामा २५ जनाको मृत्यु भएको थियो । सन् २०१६ मा म्याग्दीमा भएको तारा एयरको जहाज दुर्घटनामा २३ जनाको मृत्यु, सन् २०१० मा ओखलढुंगामा भएको तारा एयरकै जहाज दुर्घटनामा २२ जनाको मृत्यु र सन् २०१२ मा मनोहरा खोलामा भएको सीता एयरको जहाज दुर्घटनामा १९ जनाको ज्यान गएको थियो ।

यसैगरी नेपाली आकाशमा सन् २००६ मा ताप्लेजुङमा भएको श्री एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा एकै पटक २४ जनाले ज्यान गुमाएका थिए । हेलिकोप्टर दुर्घटनामा यो नै सबैभन्दा ठूलो दुर्घटना हो । २०७४ सालमा मंसिर १२ मा हुम्लाको सिमिकोटमा तारा एयरको जहाज दुर्घटना भएको थियो । जहाज रनवेबाट चिप्लिएर दुर्घटना हुन पुगेको थियो । २०७४ को जेठमा लुक्ला विमानस्थलमा समिट एयरको कार्गो जहाज दुर्घटनामा चालक र सहचालकले ज्यान गुमाएका थिए ।

सर्वाधिक दुर्घटना हुनेमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका जहाज छन् । नेपाल एयरलाइन्सका १५ जहाज दुर्घटनामा परिसकेका छन् । नेपाल एयरलाइन्सका १२ वटा डबल इन्जिन र सिंगल इन्जिन क्षमताका तीन जहाज दुर्घटनामा परेका छन् । यसबाहेक आन्तरिक उडानतर्फ नेपाल एयरवेजका चार, एभरेस्ट एयरको एक, निकोन एयरका दुई, स्काई एअरका दुई, गोरखा एअरका दुई, कस्मिकका एक, यतिका पाँच, सांग्रिलाको एक, बुद्धको दुई, अग्निको दुई, ताराको तीन, सीताको तीन र समिट एयरको एउटा दुर्घटना भएको छ ।

सन् १९७९ मा भीभीआईपी हेलिकोप्टर लाङटाङमा दुर्घटना भएको थियो । जसमा ६ जनाले ज्यान गुमाएका थिए । हेलिकप्टरतर्फ सबैभन्दा बढी फिस्टेल एयरका आठ हेलिकोप्टर दुर्घटनामा परेका छन् । जसमा १५ जनाले ज्यान गुमाएका छन् । ताप्लेजुङमा भएको श्री एयरलाइन्सको एमआई १७ दुर्घटनामा मन्त्रीसहित देशका गन्यमान्य २४ जनाको ज्यान गएको थियो । हरेक दूर्घटनासंगै सुरक्षाको प्रश्न उठ्ने गर्छन । तर छानविन समिति बनायो त्यसको प्रतिवेदन थन्क्याएर राख्यो र अर्को दुर्घटनाको प्रतीक्षा ग¥यो, यो भन्दा अर्को नियती नेपालीहरुसँग नभए जस्तो देखिन्छ ।