२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


भक्तपुरको थिमीका युवा प्राचीन शैलीमा हाँस पाल्दै


1.131k
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा पहिले घरपालुवा हाँस पाल्ने चलन थियो । समय क्रमसँगै घर, करेसा बारी र पोखरीहरुमा हाँस पाल्ने परम्परा अहिले लगभग लोप भइसकेको छ । केही युवाहरु भने सो परम्परालाई जिवन्त राख्न युवाहरु सक्रिय भइरहेका छन् ।

हाँस न्याय, ज्ञान र प्रेमको प्रतिक मानिन्छ । मानव सभ्यताको विकासक्रमसँगै हाँस पाल्ने चलन रहेको विश्वास पनि गरिन्छ । विगतमा नेपाल मण्डलमा पनि घरपालुवा हाँस पाल्ने परम्परा थियो । बहाबही, चोक, घरवारी र पोखरीमा जलपंछी हाँस पाल्ने प्रचलन व्यापक थियो । व्यवसायीकभन्दा पनि हाँस पालन पनि जनजीवनको अभिन्न अंगको रुपमा रहेको थियो । सामान्यतः घरायसी प्रयोजनका लागि अण्डा, मासु र प्वाँखका लागि हाँस चलन रहे पनि हाँस जैविक प्रणाली र वातावरणीय सन्तुलनका लागि महत्वपूर्ण थियो ।

बढ्दो शहरीकरण र आधुनिकीकरणसँग त्यो परम्परा भने लगभग लोप भइसकेको छ । तर भक्तपुर थिमीका युवा यो परम्परा कायम राख्न सकृय भएका छन् । थिमीमा रहेको ऐतिहासिक निगु पुखुःमा राजहंस पालेर यो परम्परालाई जगाउन खोजिएको छ । यहाँ रहेका दुईवटा पोखरीलाई मौलिक स्वरुपमा पुनःनिर्माण गरेर परम्परागत तरिकाले हाँस पाल्न थालिएको हो । स्थानीय रजनी श्रेष्ठ विगतमा किराफट्राग्रा नियन्त्रण गर्न पनि हाँस पालन गर्ने गरिएको र कृषी कर्म र वातावरणीय सन्तुलनको लागि महत्वपूर्ण भएको बताउनुहुन्छ ।

स्थानीय जेष्ठ नागरिकहरुलाई पोखरीमा हाँस पाले पछि दिन विताउने मेलो पनि बनेको छ । पोखरीमा हाँस खेलेको र तैरिएको हेरेर मन बहलाउने रस र समय काट्न पाएर मख छन् । उनीहरु थिमीकै पहिचानको रुपमा रहेका यी पोखरीमा हाँस पालनले मनमोहक सौन्दर्य समेत वृद्धी गरेको छ । जेष्ठ नागरिकहरु कृष्णलक्ष्मी श्रेष्ठ पोखरीमा राजहस देख्दा रमाइलो भएको बताउनुहुन्छ ।

थिमीमा करिब १८ वटा पोखरीहरु रहेको र पोखरीको संरक्षण गरि यसरी नै हाँस पाल्न सकिने स्थानीयको भनाइ छ । रजनी भन्नुहुन्छ – हाँस पाल्ने चलनलाई कायम गर्न सके मानवलाई नै सकारात्मक फाइदा हुने र यसले थिमीको पहिचानलाई पनि कायम राख्न मद्धत गर्नेछ । विदेशतिर पनि विषादी प्रयोग नगरिकन किराफट्राग्रा नियन्त्रण गरी कृषी उत्पादान वृद्धि गर्न हाँस पाल्ने चलन बढेको छ ।