२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नयाँ प्रविधिको प्रदर्शनी


169
Shares

काठमाडौं । २१औं शताब्दीमा नयाँ-नयाँ प्रविधिको आविष्कार हुने क्रमले एक पछि अर्को गर्दै फड्को मार्दै छ । त्यसमा पनि सूचना प्रविधि क्षेत्रमा झन् बढी आश्चर्यजनक विकास भएको छ । र, यसको पछिल्लो अवतार हो, आर्टिफिसिएल इन्टेल्जेन्स अर्थात एआइ । अहिले एआईको विकासले नयाँ अवसरसँगै चुनौती पनि उत्तिकै थपिरहेको सन्दर्भमा हालै मात्र राजधानीमा यसै सम्बन्धी एक प्रदर्शनीको आयोजना नै गरिएको छ ।

अहिले तपाईंलाई गायक बन्न राम्रो स्वर हुनुपर्दैन । नत भाषण गर्न कुनै कला आवश्यक पर्दछ । अथवा कुनै विषयमा कुनै लेख तयार गर्न वा अनुवाद गर्न नै किन नहोस्, कृत्रिम बौद्धिकता अर्थात आर्टिफिसियल इन्टेलिजेन्सले तपाईंकै तस्बिर र स्वरमा एकै क्लिकमा गीत बनाइदिन्छ । आलेख वा अनुवाद तयार गरिदिन्छ । पछिल्लो समयमा एआईको प्रयोग प्रत्येक दिन विश्वभरि नै बढिरहेको छ ।

नेपालमा पनि नयाँ पुस्तामा यसको अधिक प्रयोग हुने गरेको छ । नयाँ पुस्तामात्र होइन, हरेक पुस्तामा यसको लोकप्रियता बढिरहेको छ । यो प्रविधि नेपाली विद्यार्थीहरु माझ पनि लोकप्रिय बन्दै गएको छ । व्यक्तिगत वा समूहगत प्रयोग मात्र होइन, यसको बारेमा अध्ययन, अनुसन्धान र यसैलाई लिएर महोत्सव समेत हुन थालेका छन् । यही साउनको ३० गतेदेखि ३२ गतेसम्म काठमाडौंमा यस्तै महोत्सवको आयोजना गरिएको छ ।

एआई प्रविधिको बारेमा जानकारी दिने उद्देश्यले आईएनजी स्किल एकेडेमीले इस्तिङ्टन कलेज, काठमाडौंसँगको साझेदारीमा आयोजना गरेको तीन दिने प्रविधि महोत्सवमा आकर्षण पनि उत्तिकै देखिएको छ । सूचना प्रविधिमा रुचि राख्ने नयाँ पुस्तालाई प्रेरित गर्दै उनीहरूलाई अत्याधुनिक प्रविधिहरूसँग सुसज्जित बनाउन यस्तो महोत्सव आयोजना गरिएको आइएनजी स्किल एकेडेमिका प्रविधि रिसर्च प्रमुख भूषण लुटेलले बताउनुभयो ।

यस महोत्सवमा स्किल म्युजियम र इस्लिङ्टन कलेजका विद्यार्थीहरूद्वारा निर्माण गरिएका गगल, स्वचालित सवारी साधनका मोडेल र रोबोटिक साधीहरू जस्ता अत्याधुनिक प्रविधिहरू प्रदर्शनको लागि राखिएको थियो । फ्युचरमा प्रबिधि प्रदर्शनी सबै उमेर समुहका व्यक्ति र विभिन्न व्यवसायसङ्ग आबद्ध इच्छुकहरुका लागि रहेको आयोजकको भनाइ छ ।

प्रदर्शनीमा, डिजिटल दुनियाँलाई जीवन्त बनाउन वृत्तचित्र, साइबर सुरक्षा र एनिमेशनका अनुभवहरू पनि समावेश गरिएको थियो । यस्तै अन्तरक्रियात्मक बूथहरू, प्रत्यक्ष प्रदर्शनीहरू र ज्ञानवर्धक कार्यशालाहरू मार्फत प्रविधिको भविष्यको झलक प्रदान गरेको छ ।

महोत्सवको पहिलो दुई दिनमा १५ सयको सहभागिता रहेको थियो भने तीन दिनको अवधिमा करिब ३ हजार बढीले प्रत्यक्ष अवलोकन गरेको र हजारौंले यसबाट लाभ लिएको आयोजकको दावी छ ।

कार्यक्रमले एआइको उपयोग, यसबाट सिर्जना हुने अवसर र चुनौतीका बारेमा जान्ने र यसमा साझेदारी गर्न प्रोत्साहित गर्ने विश्वास लिन सकिन्छ ।