२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


दिनहुँजसो व्यस्त राजमार्गका ठाउँ-ठाउँमा पहिरो


0
Shares

काठमाडौं । पृथ्वी राजमार्ग नेपालको राजधानी काठमाडौंको लाइफलाइन हो । दैनिक २० हजार बढी सवारी साधनबाट हज्जारौं यात्रुहरु यो सडक भएर यात्रा गर्ने गर्दछन् । यसै पनि सडकले सवारी साधनको चाप थेग्न नसक्ने अवस्था आईसकेको बेला सडकको स्तरोन्नतीको काम शुरु गरिएपछि यो सडक भएर यात्रा गर्नु भयंकर चुनौतिसंग भिड्नु सरह हुन थालेको छ ।

बुधबार उपत्यका प्रवेश गर्ने र बाहिरिने प्रमुख नाका नागढुंगा सडकखण्ड नजिकै पहिरो गएपछि अवरुद्ध बनेको सडक घण्टौंको प्रयासपछी खोल्न त खोलियो तर बिहिबारसम्मै पनि पहिरो पन्छाउने काम नसिंदा हजरौं यात्रुहरु अलपत्र परे । यो सडकखण्ड अन्तर्गतको मलेखुदेखि मुग्लिनसम्म यस्ता १४ स्थान पहिरो खस्ने जोखिम रहेको छ । नागढुंगा–मुग्लिन सडकखण्डको स्तरोन्नतीको काम अहिले तीन खण्डमा विभाजन गरेर भईरहेको छ । राजधानीको ‘जीवनरेखा’ को रुपमा रहेको यो राजमार्गको स्तरोन्नतिका लागि विश्व बैंकले ऋण सहयोग उपलब्ध गराएको छ ।

पहिलो प्याकेजका रूपमा नागढुंगा–नौबिसे खण्डको १२ दशमलव २६ किलोमिटरमा काम भईरहेको छ । २०७८ चैत २९ मा ठेक्का सम्झौता भए पनि काम भने त्यसको १४ महिनापछि २०७९ जेठमा मात्र सुरु भएको हो । यसको निर्माण कार्य २०८१ जेठमा सकिने सम्झौता गरे पनि पुन म्याद थप गरी ०८१ माघसम्म पुर्याईएको छ । हालसम्म भौतिक प्रगति ५७ र वित्तीय प्रगति ४९ प्रतिशत रहेको छ । दोस्रो प्याकेज नौबिसे–मलेखु सडकखण्ड हो, जसको दूरी ४३ दशमलव ५४ किमि छ । २०७९ वैशाखमा ठेक्का सम्झौता भएको यो खण्डको काम २०८२ जेठ २७ भित्र सकिसक्नुपर्नेमा अहिलेसम्म भौतिक प्रगति २१ प्रतिशत र वित्तीय प्रगति १७ प्रतिशत मात्र देखिएको छ ।

यो सडकखण्ड भएर दैनिक सानाठूला करिब २० हजार सवारीसाधन ओहोरदोहोर गर्छन् । मलेखुदेखि मुग्लिनसम्मको खण्डको विभिन्न १४ स्थानमा पहिरोको जोखिम छ । यस खण्डमा बर्खाअघि ६ ठाउँमा पहिरो जाने र बर्षायाम शुरुभएपछी १४ स्थान पहिरोको जोखिम रहेको पहिचान गरिएको छ । स्तरोन्नतीका लागि भित्ता काट्ने र तलबाट रिटेनिङ वाल उठाउने काम भईरहँदा छिनछिनमा सडकमा अवरोध झेल्नुपर्ने बाध्यता छ । जसका कारण यो सडक भएर यात्रा गर्नु अहिले निकै कष्टकर बनिरहेको छ ।

वर्षा याममा त गुडिरहेको सवारी साधन लेदोसहितको पहिरोमा पर्नेदेखि पहिरो गएर घण्टौंसम्म रोकिनुपर्ने बाध्यता छ । विसं २०२४ सालमा चीन सरकारको सहयोगमा निर्माण शुरु गरिएको नौविसेदेखि पोखरासम्मको १८५ किलोमिटर लामो पृथ्वी राजमार्गको निर्माण ६ वर्षमै अर्थात २०३१ सालमा सम्पन्न भएको थियो । तर अहिले स्तरोन्नतीको काम यति धिमा गतिमा भईरहेको छ कि शुरुको निर्माण अवधि भन्दा लामो समय नलाग्ला भन्न सकिने अवस्था छैन ।