
काठमाडौं । इजरायल–हमास युद्ध १० माहिना पार गर्दा पनि युद्ध रोकिने छाँट देखिएको छैन । प्यालेस्टिनी विद्रोही समूह हमासको मुर्खता र इजरायलको शक्ति दम्भको शिकार प्यालेस्टिनी सर्वसाधारण भईरहेका छन् । अर्कोतर्फ हमासले बन्धकहरुको हत्या गरेर आफ्नो क्रुर चरित्र त प्रदर्शन गरेको छ नै, त्यसमाथि बन्धकहरुको हत्याले इजरायलमा आक्रोश समेत भड्किएको छ ।
हेर्स गोल्डबर्ग–पोलिन इजरायलमा आयोजना गरिएको एक साँस्कृतिक कार्यक्रमा सहभागी हुँदा हमासको कब्जामा परेका अमेरिकी युवक । आफना आमाबाबुका एक मात्र छोरा रहेका २३ बर्षिय पोलिन हमासको कब्जामा परेको ६ महिनामा हमासले उनको भिडियो सार्वजनिक गर्दा उनको देब्रे हात काटिएको अवस्थामा देखाउँदा परिवारजनमा रुवाबासी चलेको थियो । भिडियो सार्वजनिक भएको केही समयमा उनले आफनी आमालाई मोबाइलमा सन्देश पठाएपछी सम्पर्क बिहिन बनेका पोलिनको शव हालै गाजापट्टीको रफाहस्थित भुमिगत सुरुङमा भेटियो ।
इजरायली डिफेन्स फोर्स आइडिएफले फेला पारेको पोलिनसहित ६ जनाको शव इजरायल त ल्याइयो । तर यो घटनाले इजरायलका सर्वसाधारणमा आक्रोश थपेको छ । विशेषगरी हमाससंग सम्झौता गरी बन्धकहरुको रिहाईको पहल गर्न सरकारलाई दबाब दिंदै आएको बन्धकका परिवारजन तथा इजरायली सर्वसाधारण पुन एकजुट भएका छन् ।
बन्धकहरुको शव इजरायल लगेलगत्तै आइतबार बिरोध प्रदर्शन गरेका उनीहरुले इजरायलमा आम हडतालको समेत आयोजना गर्दा बिमानस्थलदेखि, शिक्षण संस्था, र ब्यापार ब्यबसाय मात्र ठप्प बन्न पुग्यो । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कमजोरीका कारण बन्धकहरुको हत्या भएको आरोप लगाउँदै नेतान्याहु बिरुद्ध चर्को नाराबाजी सहित बिशाल प्रदर्शन गरियो । प्रदर्शनकारीहरुले ठाउँ ठाउँमा आगजनी गर्दा स्थिती तनावग्रस्त बन्न पुुग्यो ।
त्यसो त इजरायली जनताले यसअघि पनि यस्ता पदर्शन नगरेका होइनन् तर सरकारले बन्धक रिहाइका लागि गरेको पहल फितलो सावित हुँदा धमाधम बन्धकहरुको शव भेटिन थालेको भन्दै उनीहरुको आक्रोश सडकमा पोखिएको हो । हमासले इजरालयमाथि गरेको आक्रमणको जवाफी कारबाही शुरु गरेको इजरायली फौजको आक्रमणबाट ४० हजार बढी प्यालेस्टिनीहरुको मृत्यु भइसकेको छ । यस बीचमा युद्धविरामको पहल नभएको पनि होइन,तर इजरालय हमासलाई निमिट्यान्न नपारी युद्ध रोक्न तयार नहुँदा समस्या ज्युँका त्युँ रहेको छ ।
हमासको हमलामा परी १० नेपाली पनि इजरायली भूमिमा मारिएका थिए भने हमासले अपहरण गरेका कैलालीका विपिन जोशीको अवस्था अझै अज्ञात छ । २१औं शताब्दीको मानवताको दुहाई दिएर नथाक्ने अन्तर्राष्ट्रिय जगतका लागि यो युद्ध कालो धब्बा बन्दै जाँदा पनि युद्ध रोकिने संकेतसम्म नदेखिनु विडम्वना नै हो ।
प्रतिक्रिया दिनुहोस्