२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सहकारीमार्फत गोर्खा मिडियामा गएको रकम दुरुपयोगमा रवि लामिछानेको प्रत्यक्ष संलग्नता


0
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणको छानविन गर्न गठीत संसदीय समितिको पूर्ण प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले आफ्नो वेबसाइटमार्फत प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा ४० बढी सहकारीको रकम कसरी दुरुपयोग र हिनामिना भयो भन्ने विस्तृत वर्णन गरिएको छ । गोर्खा मिडियामा गएको रकमको विषयमा सर्वत्र चासो रहेको छ । प्रतिवेदनले गोर्खा मिडियामा ६५ करोड बढी रकम गएको र त्यसको हिनामिना भएको विषयमा विस्तृत विवरण दिएको छ ।

संसदीय समितिलाई समग्र सहकारी क्षेत्रमा भएको ठगी र बदमासीको अध्ययन गर्न कार्यादेश दिइएकोमा सवैभन्दा ठूलो रकम हिनामिना भएका ४० वटा सहकारीको ठगीलाई समितिले केन्द्रमा राखेर अध्ययन गरेको पाइएको छ । रास्वपा सभापति रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको विषय संसदमा चर्किएपछि बनेको समितिले लामिछाने संलग्न रहेको भनिएका सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी, सहारा र सानोपाइला सहकारीबाट गोर्खा मिडियामा कसरी रकम पुग्यो भन्ने विषयमा विस्तृत विवरण दिएको छ ।

नेकपा एमाले सांसद सूर्य थापा संयोजक रहेको समितिमा सरिता भुसाल, दिलेन्द्रप्रसाद बडू, ईश्वरी न्यौपाने, लेखनाथ दाहाल, शिशिर खनाल र ध्रुवबहादुर प्रधान सदस्य रहेका थिए भने उनीहरुले सर्वसम्मत ११ सय २४ पृष्ठ लामो प्रतिवेदन तयार पारेका हुन् । पाँच वटा सहकारीबाट ६५ करोड रुपैयाँ गार्खा मिडियामा गएको र त्यसरी रकम ल्याउन ९ जना जिम्मेवार रहेको समितिको ठहर छ । गोर्खा मिडिया नेकवर्कका सञ्चालकहरू जीबी राई, छविलाल जोशी, कुमार रम्तेलसहित ९ जना मार्फत सहकारीको रकम गोर्खा मिडियामा आएको समितिको निष्कर्ष छ ।

समितिले रास्वपा सभापति लामिछानेको नामबाट सहकारीको रकम सिधै गोर्खा मिडियामा आएको नदेखिएको बताए पनि गोर्खा मिडियाका संचालकहरु कुमार रम्तेल, छविलाल जोशी र लामिछानेको नाममा रकम जम्मा गर्ने रोशनी गुरुङको बयानबाट सहकारीको रकम ल्याउन लामिछाने प्रत्यक्ष संलग्न छन् भन्ने देखिन्छ । गोर्खा मिडियामा जम्मा भएको रकम मध्ये २२ करोड ४६ लाख रुपैयाँ सिधै सहकारीबाटै जम्मा भएको पनि समितिले जनाएको छ ।

त्यसैगरी ४३ करोड ७ लाख रुपैयाँ अन्य ब्यक्ति तथा संस्थाको नक्कली खाता खडा गरी सहकारीको रकम गोर्खा मिडियामा ल्याएको पनि प्रतिवेदनमा उल्लेख छ । त्यसरी आएको रकम मध्ये अधिकांश रवि लामिछानेको एकल हस्ताक्षरमा चेक काटेर खर्च गरिएको पनि खुलासा भएको छ । रवि आफैंले मासिक ६ लाख २० हजार तलब बुझ्ने गरेको पनि खुलासा भएको छ ।

छानबिन समितिमा ९ घण्टा बयान दिँदा पनि लामिछानेले गोर्खा मिडियाको लगानी, आम्दानी र खर्चबारे आफूलाई केही थाहा नभएको दाबी झुठ साबित भएको छ भने कम्पनीको लगानी, ऋण र सम्पत्ति सहितको लेखापरीक्षण प्रतिवेदनमा पनि अध्यक्षको ठाउँमा गितेन्द्रबाबु (जीबी) राई र प्रबन्ध निर्देशकका रूपमा रवि लामिछानेको हस्ताक्षर रहेको फेला परेको छ । गोर्खा मिडियामा प्रबन्ध निर्देशक रहेका लामिछानेले २०७७ वैशाख ५ मा कम्पनी रजिस्ट्रार कार्यालयबाट १५ प्रतिशत सेयरका लागि कम्पनीमा रकम बुझाएको र त्यसका लागि बुटवलको सुप्रिम सहकारीबाट रकम सारेर खर्च गरिएको बैंक स्टेटमेन्ट, भौचर, कम्पनीको माइन्युटबाट देखिएको प्रतिवेदनमा उल्लेख छ ।

त्यतिमात्र होइन ग्लोबल आईएमई र तत्कालीन सिभिल बैंकमा गितेन्द्रबाबु (जीबी) राई, रवि लामिछाने र छविलाल जोशीले सञ्चालन गरेको गोर्खा मिडियाको संयुक्त खातामा रवि लामिछानेले हस्ताक्षर गरेका चेक पनि साटिएको प्रमाण पनि समितीले फेला पार्दा उक्त रकम सहकारीकै भएको खुलासा भएको छ । गोर्खा मिडिया सम्वद्ध ब्यक्तिहरुको बयानबाट पनि रवि लामिछाने सहकारीको रकम गोर्खा मिडियामा आएको सम्बन्धमा पूर्ण रुपमा जानकार रहेको देखिन्छ ।

गोर्खा मिडियाका अध्यक्ष जीबी राइलाई खोज्न नेपाल प्रहरीको टोली दश दिन मलेसिया बस्दा पनि उनको विषयमा पत्ता लगाउन नसकेको पनि प्रतिवेदनमा उल्लेख छ । कास्की कारागारमा रहेका भविश्वर अर्यालले सहकारीको रकम गोर्खा मिडियामा ल्याउनका लागि गरेको जीबी, रवि र दिपेश पुन बीचको वैठकमा आफू पनि सहभागी भएको बताएको पनि प्रतिवेदनमा उल्लेख छ ।

संसदीय छानविन समितिले कांग्रेस सभापति धनराज गुरुङबाट भएको ठगीलाई अनुसूचीमा उल्लेख गरेको छ । समिति गठन हुँदा उक्त प्रकरण सतहमा नआएकाले समितिले सो विषय अनुसूचिमा उल्लेख गर्दै गुरुङमाथि विस्तृत अनुसन्धान हुनुपर्ने सुझाव दिएको छ । यस्तै अन्य सहकारी ठगीमा संलग्न २९ जना फरार ब्यक्तिहरुको नाम पनि समितिले सार्वजनिक गरेको छ । नेपालको ईतिहासमा सवै भन्दा ठूलो आर्थिक अपचलनको रुपमा आएको सहकारी ठगीले नेपाली समाज जोकोहीलाई पीडित बनाएको छ । तर यो प्रकरणमा संलग्न हुनेहरुलाई सरकारले कसरी कारबाही गर्छ र सर्वसाधारणको डुबेको अर्बाैं रकम कसरी फिर्ता गराउँछ भन्ने अग्नि परीक्षा बनेको छ ।