
काठमाडौं । गत बिहीबारदेखिको अविरल वर्षाका कारण काठमाडौंका नदी किनारका थुप्रै सुकुम्वासी बस्तीहरु बगाएको छ । थापाथली, शंखमूललगायत स्थानका सुकुम्बासी बस्तीहरुमा रहेका अधिकांश घरटहरा बाढीले बगाउँदा सुकुम्बासीहरुको उठिबास भएको हो ।
काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्वासी बस्ती उठाउने विषय सधैं विवादास्पद रहँदै आएको छ । काठमाडौंका मेयर बालेन शाहले मेयरमा निर्वाचित भएपछि पटक पटक असुरक्षित सुकुम्बासी बस्तीहरु व्यवस्थित गर्ने प्रयास पनि नगरेका होइनन् । तर कहिले सरकारको असहयोग त कहिले न्यायालयको अवरोधका कारण सुकुम्वासी बस्तीहरु हटाउन महानगरपालिका असफल भएको थियो । तर गत बिहीबार रातीदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले थापाथली, शंखमुललगायत स्थानका ठूला सुकुम्बासी बस्तीहरु बाढीले एकाएक बगाइदियो । स्वयम् सुकुम्बासीहरुको ढिठका कारण पनि अहिले यो हविगत भएको हो । संधै नै जोखिममा रहने गरेका उनीहरुको जीवन यसपालिको बाढीले भने उजाड बनाइदिएको छ ।
बाढीले सुकुम्वासी बस्ती पुरै बगाए पनि मानवीय क्षति भने हुन पाएन । समयमै यहाँ बस्नेहरुलाई सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति हुन नपाएको हो । आइबार दिउँसो हाम्रो टोली यी सुकुम्वासी बस्तीमा पुग्दा बाढीबाट बचेका केही टहराका बासिन्दा भने आप्mनो घरमा पसेको बाढीको लेदो पन्छाउन व्यस्त थिए । यतिसम्म कि उनीहरु लेदो भरिएका सरसामान धोइपखाली गरिरहेको पाइयो । यसअघि पनि सानोतिनो बाढी व्यहोरेका उनीहरुले यस प्रकारको बाढीको अनुभव भने पहिलो चोटी गरेका हुन् ।
शंखमुलको दायाँ बायाँ दुबैतर्फबाट बारसमेत भत्काउँदै आएको बाढीले त्यहाँ वरपरका धेरै बस्तीहरु डुबानमा पर्दा सबैभन्दा मारमा सुकुम्बासी बस्ती परेको छ । जसमा त्यहाँका बासिन्दाको खाद्यान्न, लत्ता कपडा लगाएत हरेक सरसामान बगाउँदा बचेका केही सामान पनि लेदोमा पुरिएका छन् । यहासम्म कि महत्वपुर्ण कागजात समेत बगाउँदा उनीहरुको भविष्य समेत अन्यौलमा परेको छ । यस बस्तीमा रहेका १ सय ३६ घरपरिवारका बालबालिकाको पुस्तकहरु समेत बगाउँदा उनीहरुको भविष्य पनि अन्यौल बनेको छ ।
सरकारले २०७१ सालमा नागार्जुन नगरपालिका वडा नं १ को रानीवन नजिक सुकुम्बासीहरुलाई राख्न बनाएका अपार्टमेन्टहरु भुत बंगलामा परिणत भएका छन् । तर सुकुम्बासीहरु भने छुट्टै घर घडेरी पाउने आशामा यही नदी किनारमै बस्ने जिद्दी गर्दै आएका छन् ।
यस पटकको बाढीले नदी किनार ओगट्दै आएका सुकुम्बासी र सिंहदरबारमा बस्ने हुकुम्वासीहरु दुवैको होश खुलेको हुनु पर्दछ । अब पनि सुकुम्बासी बस्ती व्यवस्थित गर्न छाडेर सस्तो राजनीति मात्रै गर्ने हो भने कुनै पनि बेला अकल्पनीय मानवीय क्षतिसमेत नहोला भन्न सकिँदैन ।
प्रतिक्रिया दिनुहोस्