२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

न्याउरीमुसा पनि धन संकलनको प्रतिक


169
Shares

काठमाडौं । यमपञ्चकमा काग, कुकुर, गाई जस्ता पंक्षी र जनावर मात्र होइन न्याउरीमुसा र कछुवाको पनि पूजा गर्ने चलन थियो । धन लक्ष्मीको बाहनको रुपमा कछुवा र धन संकलन गरेर ल्याउने विश्वासमा न्याउरीमुसाको पनि पूजा गरिन्थ्यो । कछुवा बाहन भएको लक्ष्मी र बाँया हातले न्याउरीमुसा समाएको धन कुवेर जम्भलको चित्र र मूर्तिमा सुखरात्रिको दिन पूजा गर्ने प्रचलन कायम नै छ ।

न्याउरीमुसा, धन र बहुमुल्य रत्न संकलन गरेर ल्याउने प्राणीको रुपमा विश्वास गरिन्छ । त्यसैले यम पञ्चकमा काग, कुकुर, गाई जस्ता जनावर मात्र होइन न्याउरीमुसाको पनि पूजा गर्ने प्रचलन छ । धार्मिक मान्यता अनुसार यो रहस्यमय जीवलाई सधैं धन कुवेर जम्भलले बाँया हातले समाइरहेका हुन्छन् । मान्यता अनुसार न्याउरीमुसाले धन, बहुमुल्य रत्न र गरगहना मुखले टिपेर जम्भलको ढुकुटीमा ओक्लने गर्छ । तसर्थ, न्याउरीमुसालाई पनि धन संकलकको रुपमा पूजिने गरिन्छ ।

नेपाल मण्डलमा सुखरात्रिका दिन न्याउरीमुसा समाएको जम्भल सहित कछुवा बाहन भएको धन लक्ष्मी तथा बसुधारा चित्र र मूर्तिमा पूजा गरिन्छ । यक्षयक्षणी र ख्याः समेत राखेर यसरी पूजा गर्नाले धनधान्य सुख र समृद्धि हुने विश्वास गरिन्छ । यति मात्र होइन जम्भललाई नै प्रभावमा राख्ने उच्छुष्मजम्भललाई पनि गोप्य र तान्त्रिक रुपमा साधना गर्ने गरिन्छ । बौद्ध विद्धान राजेन्द्रमान बज्राचार्यका अनुसार पाँच प्रकारका जम्भलहरुले धन संकलनका लागि न्याउरीमुसा समाइरहेको हुन्छ । हाल यस्तो परम्पराहरुलाई यदाकदा कलामार्फत पनि उजागर गर्ने गरेको पाइन्छ । नागमणि समेत नागबाट छिनेर ल्याउन सक्ने क्षमता न्याउरीमुसा भएकोले पनि धन संकलकको रुपमा पूजा गर्ने परम्पर बसेको हुन सक्ने बज्राचार्यको भनाइ छ ।

न्याउरीमुसा धार्मिक रुपमा मात्र होइन पर्यावरणीय सन्तुलनको लागि पनि महत्वपूर्ण प्राणी हो । तसर्थ यस्ता प्राणीहरुलाई सम्मान स्वरुप पूजा गर्ने हाम्रो परम्परा र संस्कार आफैमा संस्कारित छ ।