
ललितपुर । विश्वमा अहिले पनि विभिन्न देशहरुबीच युद्ध भइरहेको छ । शान्तिका लागि युद्ध विराम कसरी गर्ने भन्ने विषयमा नेपालसँग पनि विगतका अनुभवहरु छन् । करिव तीन शताब्दी अघि धर्मलाई आधार बनाएर शान्ति सम्झौता गरेको ऐतिहासिक प्रमाण दिने शिवलिङ्ग हालै ललितपुर र भक्तपुरको सिमानामा फेला परेको छ ।
भनिन्छ नेपाल मन्दिरै मन्दिरको देश हो । त्यसैले यहाँ पाइलैपिच्छे विभिन्न देवदेवीहरुका मूर्तिहरु पाइन्छन् । विगतमा मन्दिर र मूर्तिहरु स्थापना गर्नुको पछाडि पनि विशेष कारण रहने गरेको पाइन्छ । यस्तै विशेषता बोकेको शिवलिङ्ग भक्तपुर र ललितपुरको सिमाना अन्नडोल लुँबुमा फेला परेको छ । करिव ३ सय ३० वर्ष पुरानो अभिलेखसहितको शिवलिङ्ग फेला परेको हो । महालक्ष्मी नगरपालिका वडानं ८ लुँबुमा व्यक्तिको जग्गामा इनार खन्ने क्रममा शिवलिङ्गको योनी भागसहित जलद्रोणी फेला परेको हो । फेला परेको जलद्रोणी पुरातात्विक र ऐतिहासिक रुपले एकदमै महत्वपूर्ण रहेको मानिएको छ । कारण, यसले तत्कालीन समयमा धर्मको आधारमा युद्ध विराम, सीमा सुरक्षासहित शान्ति सम्झौता गराएको ऐतिहासिक प्रमाण पनि भेटिएको छ ।
त्यति बेला युद्ध विराम गरेर भक्तपुरका राजा जीतामित्र मल्ल र ललितपुरका राजा योगनरेन्द्र मल्लबीच शान्ति सम्झौता गरेर साक्षी स्वरुप शिवलिङ्ग स्थापना गरेको देखिएको छ । जलद्रोणीसहित १६ इञ्च गोलाइ र ६ इञ्च उँचाइ रहेको शिवलिङ्गको योनी भागमा नेपाल संम्वत ८१५ उत्कृर्ण गरिएको छ । प्रारम्भिक रुपमा अभिलेखमा यी दुईराजाहरु बीच युद्ध विरामको सम्झौता गरी शिवलिङ्ग स्थापना गरेको तथा सम्झौता उल्लंघन गरे पञ्च महापाप लाग्ने उल्लेख गरिएको विज्ञहरुले बताएका छन् ।
साथै शिवको दैनिक पूजा सञ्चालनको खर्च जुटाउन भक्तपुर र ललितपुरको सिमानामै रहेको जमिन गुथीको रुपमा राखेको पाइएको छ । विज्ञहरुले अभिलेखको अनुसन्धान र लिप्यान्तरपछि मात्र थप तथ्य खुल्ने बताएका छन् । हाल फेला परेको शिवलिङ्गको सुरक्षा र संरक्षणका लागि स्थानीयले जलद्रोणी संरक्षण समिति नै बनाएका छन् । समितिका अध्यक्ष प्रकाश थापा यस ऐतिहासिक स्थानमा शिवलिङ्ग र मन्दिर पनि फेला पर्न सक्ने हुनाले थप उत्खनन गरेर अध्ययन अनुसन्धान हुनुपर्ने बताउनु हुन्छ ।
मल्लकालमा भएको युद्ध, शान्ति र सीमा सुरक्षाको बारेमा ऐतिहासिक तथ्यका लागि पनि अभिलेख र यस स्थानमा सुक्ष्म अनुसन्धान गर्नुपर्ने समितिका उपाध्यक्ष आशाकाजी राजथलाको माग छ ।
यो सामान्य शिवलिङ्ग मात्र होइन्, तत्कालीन समयको दुई राज्य बीचको युद्ध तथा शान्ति नीति, राजनीति र कुटनीतीक तथ्य प्रकाशमा ल्याउने ऐतिहासिक प्रमाण पनि हो । त्यसैले यस्ता अभिलेख सहितको पुरातात्विक प्रमाणलाई संरक्षण गर्नु र थप अनुसन्धान गर्नु राज्यको दायित्व हो ।
प्रतिक्रिया दिनुहोस्