
इलाम । इलामको माङ्सेबुङ्ग गाउँपालिकामा व्यवसायीक रुपमा कफि खेती बिस्तार हुने क्रम बढेको छ । कम मेहनत, मुल्य र बजारको समस्या नभएपछि किसान कफि खेतीमा आकर्षित भएका हुन् ।
इलामको माङसेबुङ गाउँपालिका- २ का मछिन्द्र योङहाङ्गले धान उत्पादन हुने ४० रोपनी क्षेत्रफलमा कफि खेती गरेका छन् । धान उत्पादन हुँदै गरेको खेतमा रोपिएको कफिले आम्दानी दिन थालेको छ । सिँचाइ सुविधा दिँदै आएको कुलोको मुहान सुकेपछि कफि खेती गरिएको थियो ।
यस्तै माङ्सेबुङ्ग- २ का होमबहादूर कार्कीले ३ वर्षदेखि व्यवसायीक कफि खेती गरेका छन् । खाद्यबाली उत्पादन कम हुने जग्गामा रोपिएको कफिको उत्पादनबाट कार्कीको आम्दानी राम्रो छ । बोटमा पाकेको कफि टिपेकै दिन प्रतिकिलो सय रुपैयाँमा बिक्री हुन्छ ।
माङ्सेबुङ्ग गाउँपालिकामा व्यवसायीक कफि खेती गर्ने मछिन्द्र योङ्हाङ्ग र होमबहादूर कार्की प्रतिनिधि किसान मात्रै हुन् । माहाभारत र चुरे भु–भाग रहेको माङ्सेबुङ्गमा सिँचाइ सुविधा कम हुन्छ । जसका कारण किसानले व्यवसायीक कफि खेती रोजेका छन् । ३ वर्ष अघिबाट शुरु भएको व्यवसायीक कफी खेती बिस्तारले अभियानको रुप लिएको छ । ३ वर्षअघि रोपिएका कफिका बोटले मनग्ये आम्दानी दिन थालेका छन् । कफी खेतीका लागि प्रशस्त जमिन र उपयुक्त वातावरण भएकाले किसानको आकर्षण बढेको हो ।
वन जङ्गलको आडैमा प्रशस्त खाली जमिनमा लगाइएका कफीका बिरुवाहरुले हराभरा देखिन थालेको गाउँपालिकाले जनाएको छ । कफीसँगै व्यावसायिक रुपमा बाख्रापालन समेत बढ्दै गएको छ । उत्पादित कफी गाउँकै संकलकबाट संकलन हुन्छ । जसका कारण किसानले बजारीकरणको समस्या भोग्नु परेको छैन । कफि खेतीमा किसानको आकर्षण बढेपछि कोशी प्रदेश सरकारको सहयोगमा कफि खेती प्रवद्र्धन कार्यक्रम माङ्सेबुङ्गमा लागु भएको छ ।
प्रकाश नेपाल
प्रतिक्रिया दिनुहोस्