२५ फाल्गुन २०८१, आइतबार | Sun Mar 9 2025


पुर्व राजाको स्वागतले दिएको सन्देश


0
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको साता लामो भ्रमण सकेर काठमाडौं फर्किनुभएको छ । भ्रमणमा जाने र भ्रमणबाट फर्कने क्रममा उहाँलाई राजावादीहरुले स्वागत र बिदाइ गर्ने गरेका छन् । तर यस पटक भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा शाहलाई स्वागत गर्ने समर्थकको भीड र उत्साह बढेको थियो ।

फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पुर्व राजा ज्ञानेन्द्र शाहले दिएको सन्देश अनि त्यस सन्देशलाई टेकेर पछिल्लो समय राजसंस्था प्रति आस्था राख्ने दल र राजावादीहरु मात्र नभइ आम जनसमुदाय देशको स्थिति, मौलाएको भ्रष्टाचार, बेरोजगारी, राजनैतिक अवस्था र राजनीतिक दलहरुको रवैयाबाट वाक्क दिक्क भएपछिको परिणाम हो यो । के युवा के वृद्धवृद्धा ? हरेक तह र तप्काका सर्वसाधारण पुर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न घण्टौंदेखि विमानस्थल परिसरमा पुर्व राजा शाहको पर्खाइमा बस्दा उनीहरुले लगाएको नारा घन्किएको थियो ।

जिल्ला जिल्लाबाट आएका सर्वसाधारणको भीड नियन्त्रण गर्न हजारौंको संख्यामा प्रहरी परिचालन गरिँदा बेलाबेलामा घम्साघम्सी समेत भएपनि राजसंस्था समर्थक अनि प्रहरीका संयमताले प्रदर्शन शान्त नै रह्यो । हात हातमा राष्ट्रिय झण्डा अनि ठाउँ ठाउँमा बाजागाजाले गरेको सत्कारले जनसमुदायको राजसंस्थाप्रतिको मोह देखिन्थ्यो । विमानास्थलदेखि निर्मल निवाससम्मको बाटोको दायाँ बायाँ उभिएर गरिएको स्वागत अनि पुर्व राजाले देखाएको सदाशयताले नेपालीहरुको मन छोएको थियो ।

धेरैजसो देश विदेशको भ्रमण सकाएर स्वदेश फर्केने क्रममा विमानस्थलमा केहीको संख्यामा भेला हुने गरेका राजावादीहरु र सर्वसाधारणले नाराबाजी नगरेका होूइनन् तर फागुन २५ गते पुर्व राजा ज्ञानेन्द्र शाहलाई राजधानी फर्केने बेलामा गरेको यो स्वागत यसअघि बिरलै देख्न पाइन्थ्यो । विशेष गरी राप्रपा र राप्रपा नेपाल, मेडिकल व्यवसायी दुर्गा प्रसाई र राजसंस्थाप्रति आस्था राख्ने दल लगायत हजारौंको संख्यामा भेला भएका नरनारीहरुको यो समर्थन अनि राजसंस्थाको समर्थनको नाराले राजधानी शहर गुन्जिएको थियो ।

त्यसो त यसअघि राजसंस्थाको वकालत र पुर्नस्थापनाका लागि राप्रपा र राप्रपा नेपाल अनि मेडिकल व्यवसायी दुर्गा प्रसाई जस्ता समुहले अलग अलग रुपमा राजसंस्थाको समर्थनमा भएको प्रदर्शनमा पनि हजारौको संख्यामा नेपालीहरुको सहभागिता नरहेको होइन । यही फागुन ७ गते पुर्व राजा शाहले दिएको अभिव्यक्तिको कदर स्वरुप नेपाली जनताले साथ दिएको पछिल्लो घटनाक्रमले पुष्टी गरेको छ ।

राजसंस्थाको वकालतमा यसअघि भएका प्रदर्शनका क्रममा प्रदर्शनलाई दबाउन अश्रुग्यास र हवाई फायर अनि लाठी चार्ज समेत गर्न आदेश दिएको सरकारले आजको शक्ति प्रदर्शनका क्रममा पनि हजारौंको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गर्‍यो । देशमा राजसंस्थाको समर्थनमा छुट्टा छुट्दै प्रदर्शन गरेकोमा अहिले भने सबै एकजुट हुँदाको परिणाम हो यो । पछिल्लो समय लगातार रुपमा राजसंस्थाको पक्षमा राजधानी लगायत देशका विभिन्न जिल्लामा दिनहुँ जसो भइरहेको प्रर्दशन अनि पुर्वराजालाई जिल्ला जिल्लामा गरिएको स्वागतले पनि जनसमुदायको देशप्रतिको वितृष्णा छर्लङ्गै हुन्छ ।