
काठमाडौं ।
विदेशमा रहेका मतदाताहरुलाई पनि आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी गराउनुपर्ने लगायतका मुख्य माग राखि जेन-जी अभियन्ताहरुले निर्वाचन आयोगमा ज्ञापन पत्र बुझाएको छ ।
हिजो आयोगको मुख्यालय पुगेर उनीहरुले विदेशमा रहेका मतदाताहरुलाई पनि निर्वाचनमा भाग लिन पाउने अधिकार सुनिश्चित गर्न माग गर्दै आयोग पदाधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
रोजगारीको खोजीमा विदेशिन बाध्य मतदाताहरुलाई पनि निर्वाचनमा भाग लिने उनीहरुको अधिकार सुनिश्चित गर्न माग गर्दै निर्वाचन आयोगमा ज्ञापन पत्र बुझाइएको जेन-जी अभियन्ता शिव यादवले बताउनुभयो । उहाँले निर्वाचनको तयारीको बारेमा पनि आयोगसँग जानकरी लिइएको बताउनु भयो ।
जेनजी अभियन्ताहरुले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन पनि आयोगलाई सचेत गराएका थिए । यता, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विदेशमा रहेको मतदाताहरुलाई आगामी निर्वाचनमा सहभागी गराउनका लागि आयोग लागि परेको बताउनु भएको थियो ।
उहाँले आयोगले त्यसका लागि सरकारसँग छलफल गरिरहेको पनि बताउनु भयो । भण्डारीले आयोगले सबै मतदाताको अधिकार हनन हुन नदिन दत्तचित्त भएर काम गरिरहेको बताउनु भयो ।
उहाँले निर्वाचन आयोगले आगामी फागुन २१ गतेको निर्वाचनमा विदेशमा रहेका मतदाताहरुलाई सहभागी गराउने संवैधानिक अधिकार कार्यान्वयनमा ल्याउने गरी ऐनको मस्यौदा सरकारलाई बुझाएको र सरकारले त्यो चाँडै सम्बोधन गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन आयोग चौबिसै घण्टा क्रियाशील रहेको भण्डारीले दोहोर्याउनुभयो ।
प्रतिक्रिया दिनुहोस्